तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा योग पर्यटनको सम्भावना छः मन्त्री किराँती 

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरामा योग पर्यटनको प्रचुर सम्भावना भएको बताउनु भएको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२३ को अवसरमा पोखरा रङ्गशालामा बुधबार सम्पन्न भएको अन्तर्राष्ट्रिय योग शिविरमा सम्बोधन गर्दै पोखरामा पर्यटन सहित योग पर्यटनको सम्भावना भएको उहाँले बताउनु भएको हो । 

पोखरा अन्ताराष्ट्रिय विमानस्थलबाट अब भारतका विभिन्न शहरहरुमा सिधा हवाई सेवा सञ्चालन गर्न सके दुवै देशको धार्मिक एवं योग पर्यटनको प्रबद्र्धन हुने मन्त्री किराँतीले बताउनु भयो । उहाँले भन्नु भयो“भारत र भारत सरकारको तर्फबाट पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गरी हाम्रो उद्देश्यमा साथ मिल्छ भन्ने हामीले विश्वास लिएका छौँ । ” पोखराबाट भारतका विभिन्न क्षेत्रिय शहरहरुमा उडान भर्न सक्ने कुरा व्यापक सम्भावना रहेको उल्लेख गर्दै मन्त्री किराँतीले पोखराबाट पट्ना, भारतको चडन्डीगण, गोरखपुर र सिलगुडी विमानस्थलहरूमा उडान भर्न सके थप दुवै देशको संस्कृति, सामाजिक र आर्थिक सम्बन्ध प्रगाढ हुने दाबी गर्नु भयो । 

इतिहासमा पनि भारत र चीनको व्यापारिक ठुलो नाका रहेको स्मरण गर्नु भयो । मन्त्री किराँतीले भारत र चीनको नाका बराबरी दुरीमा रहेको पोखरामा योग दिवस मनाई रहँदा यसले पोखरामा योग पर्यटनको सम्भावनालाई उजागर गरेको बताउनु भयो । 

भारतीय दूतावासको समन्वयमा पोखरा महानगरपालिकाको स्थानीय व्यवस्थापन र योग तथा पर्यटन सम्बद्ध विभिन्न संस्थाहरूको सहकार्यमा आयोजना भएको विशेष योग शिविरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योग हाम्रो पूर्वीय दर्शन संस्कृतिमा निकै महत्वपूर्ण साधनाको रुपमा रहेको दाबी गर्नु भयो । मानसिक तनाव व्यवस्थापन, दुःख र कष्टको लागि भोगेको बाटो असीमित इच्छा र आकाङ्क्षाले भौँतारिएको मानव जातिको लागि शान्तिको बाटोको रुपमा योगलाई ग्रहण गरेको उहाँले दाबी गर्नु भयो । 

भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरामा आउँदो बर्ष पुनः पोखरामै उक्त योग दिवस मनाउन सकिने बताउनु भयो । स्थानीय पोखरा महानगर, प्रदेश र सङ्घीय सरकारको साथ र सहयोग भएको अवस्थामा उक्त कार्यक्रमलाई पोखरामा निरन्तर गर्न सकिने उहाँको भनाई थियो । योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने राजदूत श्रीवास्तवले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button