आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुली लक्ष्य भन्दा १३ प्रतिशत कम

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक बर्ष ०७९/८० को ज्येष्ठ महिनामा लक्ष्य भन्दा १३ दशमलब ५ प्रतिशत राजश्व कम राजश्व असुली भएको छ । सो महिना आन्तरिक राजश्व विभागले ३ अर्ब ४८ करोड ६७ लाख ४३ हजार लक्ष्य दिएकोमा ३ अर्ब ३ करोड १६ लाख ५६ हजार रुपैंया कर असुली भएको हो ।
कार्यालयले आयकर, बहालकर, व्याजकर, मूल्य अभिवृद्धि कर, अन्त शुल्क कर, स्वास्थ्य सेवा कर र शिक्षा सेवा करबाट कर असुली गर्दै आएको छ ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार सबैभन्दा बढी मदिरा तथा सुर्तीजन्य पदार्थको करबाट ज्येष्ठ महिनामा २ अर्ब ६४ करोड ७३ लाख ९९ हजार राजश्व सङ्कलन गरेको हो । आन्तरिक राजश्व विभागले यो शीर्षकमा उक्त महिना ३ अर्ब ७ करोड ३९ लाख ५१ हजार रुपैंया असुली गर्ने लक्ष्य दिएको थियो ।
यस्तै मूल्य अभिवृद्धि करबाट जेठ महिनामा १७ करोड १५ लाख ११ हजार राजश्व असुली भएको छ । यस शीर्षकमा विभागले २४ करोड ८६ लाख १६ हजार रुपैयाँ असुली गर्ने लक्ष्य दिएको थियो ।
तर आयकर शीर्षक र स्वास्थ्य सेवा करमा भने कार्यालयले लक्ष्य भन्दा बढी कर सङ्कलन गरेको छ । जसअनुसार विभागले कार्यालयलाई आयकरमा १५ करोड १२ लाख ५४ हजार रुपैंया लक्ष्य दिएकोमा जेठ महिनामा २० करोड २३ लाख ३ हजार रुपैंया राजश्व सङ्कलन भएको छ भने स्वास्थ्य सेवा करमा २० लाख ७३ हजार लक्ष्य दिएकोमा ५१ लाख ८४ हजार रुपैयाँ सङ्कलन भएको छ ।
कार्यालयका अनुसार बहाल कर शीर्षकमा ५६ लाख ८१ हजार लक्ष्य दिएकोमा ३५ लाख ९३ हजार रुपैयाँ असुली भएको छ भने व्याज कर शीर्षकमा व्याज कर शीर्षकमा ५१ लाख ८६ हजार लक्ष्य दिइएकोमा ३७ लाख ३६ हजार राजश्व असुली भएको छ । शिक्षा सेवा करमा विभागले कुनै लक्ष्य दिएको छैन र राजश्व पनि असुली नभएको कार्यालयले जानकारी दिएको छ ।
यी सबै शीर्षकमा गरी जेठ महिनाको लागि विभागले दिएको लक्ष्यभन्दा १३ दशमलब ५ प्रतिशत कम राजश्व असुली भएको हो । जसअनुसार उक्त महिनाको लागि ३ अर्ब ४८ करोड ६७ लाख ४३ हजार लक्ष्य दिएकोमा कार्यालयले ३ अर्ब ३ करोड १६ लाख ५६ हजार रुपैंया मात्र राजश्व असुली भएको छ । कार्यालयका सूचना अधिकारी विष्णु रावतले विगतका महिनामा भन्दा जेठ महिनामा कर असुलीमा सुधार आएको बताउनु भयो । ‘यो महिना पेय पदार्थ तथा सुर्तीजन्य पदार्थको निकासी पनि बढ्यो उनले भने, आयकर तिर्ने करदातालाई पनि हामीले ताकेता गर्यौँ ।’ उहाँले भन्नुभयो ।
जेठ महिनामा मदिरा तथा सुर्तीजन्य र अन्य पेय पदार्थको निकासी बढी भएकोले गत महिनाको तुलनामा राजश्व असुली लक्ष्यमा सुधार आएको उहाँको भनाई छ । वैशाख महिनामा कार्यालयले लक्ष्य भन्दा २८ प्रतिशत कम राजश्व असुली गरेको थियो ।
चितवनको सबैभन्दा बढी राजश्वको श्रोत मदिराजन्य पदार्थ भएकोले यस शीर्षकमा बढी कर असुली हुने गरेको छ । सुर्तीजन्य उद्योग तथा कारखानाले स्वास्थ्य जोखिम कर तिरेकोले ज्येष्ठ महिनामा स्वास्थ्य सेवा करमा लक्ष्य भन्दा बढी कर असुली भएको रावतले बताउनु भयो । विभागले यस चालु आवको लागि २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार राजश्व असुलीको लक्ष्य दिएको छ भने हालसम्म कार्यालयले १९ अर्ब ७३ करोड २५ लाख ५४ हजार असुली भएको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्