तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज महानगरपालिकाद्वारा ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तावित गरेको छ । 

वीरगञ्ज महानगरपालिका नगर सभाको १३ औँ  अधिवेशनमा महानगरपालिका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेटमध्ये चालु तर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात् ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात् २२ प्रतिशत गरी कुल ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको घोषणा गर्नु भयो ।

यसैगरी महानगरपालिकाले वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागी ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।  

यस्तै लामखुटेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन भएको छ ।   

वीरगञ्ज महानगरपालिकाले सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपियाँ, राजश्व बाँडफाँड २१ करोड १२ लाख रुपियाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार को अनुमान गरिएको छ । 

नगरसभाको १२ औँ अधिवेशनले आर्थिक बर्ष २०७९/८० का लागि ४ अर्ब ४४ करोड ३४ लाखको अनुमानित बजेट प्रस्तुत गरेकोमा आर्थिक बर्ष २०८०/८१ मा गत वर्षको तुलनामा झण्डै १ अर्ब २३ करोड बजेट घटेर आएको छ ।

आर्थिक मन्दी लगायत राजस्व असुलीमा कम हुनु सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण तथा सशर्त अनुदानको रकम कटौती हुनुले महानगरको बजेटमा प्रभाव परेको छ ।

यसअघि आजै नगरसभाको १३ओं अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत  गर्दै महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले महानगरको बजेटमा शिक्षालाई विशेष जोड दिइएको बताउनु भयो । उहाँले आर्थिक गतिविधिलाई गतिशीलता दिन वीरगन्जलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा अगाडि बढाउने नीति पनि महानगरले  अघि सारेको जानकारी दिनुभयो ।

नगर प्रमुख सिंहले अबदेखि सेवाग्राहीले जुनसुकै ठाउँबाट भवन निर्माण इजाजतको लागि आवेदन दिन मिल्ने र आफ्नो काम कुन तहमा पुगेको छ भनी हेर्न मिल्ने गरी इलेक्ट्रिक बिल्डिङ पर्मिट सिस्टम लागु गरी आधुनिकीकरण गरिने नीति लिएको  बताउनुभयो । 

महानगरभित्र पानीको सतह घट्दै गएकोले भवन निर्माण इजाजत दिँदा अनिवार्य रुपमा तोकिएको रेन हार्भेस्टिङ प्रणाली अवलम्बन गर्नुपर्ने नीति पनि महानगरले अघि सारेको छ । महानगर क्षेत्र भित्र व्यवसायीक प्लटिङ गर्नेहरूले अब देखि भने अनिवार्य रुपमा प्लटिङ स्वीकृति लिनुपर्नेछ ।

व्यवसाय कर आ.व.को पौष मसान्त भित्र बुझाएमा १० प्रतिशत छुट दिइने नीति अवलम्बन गरिएको छ । यस्तै भोजपुरी कला मार्फत शहर सौन्दर्यीकरणमा जोड दिने नीति महानगरले लिएको छ । 

पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर अध्ययन गर्न चाहने श्रमजीवी पत्रकारलाई छात्रवृत्ति उपलब्ध गराउने, ज्येष्ठ पत्रकारलाई भत्ताको व्यवस्था मिलाउने, सञ्चार प्रतिष्ठानका अक्षय कोषमा सहयोग उपलब्ध गराउने, व्यावसायिक सञ्चारकर्मीको क्षमता विकासका लागि विविध कार्यक्रम ल्याइने लगायतका कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।

नगर अधिवेशनमा बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, ३२ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button