बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण

बाँके । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनको सुविधा पाएका छैनन् ।
जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिनुभयो । “केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउने गरेको तर जिल्लामा भ्याक्सिन नआएको बताउनुभयो ।
घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त भाइरसको सङ्क्रमण देखिएको उहाँको भनाइ थियो । राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ ।
नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताउनुभयो । सङ्क्रमणका कारण दूधको उत्पादन घट्नु तथा पशु सङ्क्रमणबाट मुक्त भए पनि पहिलेकै अवस्थामा नफर्कनुले किसान मारमा परेको उहाँले बताउनुभयो ।
सचिव डा न्यौपानेले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिनुभयो । “यसको रोकथामका लागि मास भ्याक्सिन सुरु गर्नुपर्ने र जैविक सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवतजावतमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुन सक्ने डाक्टर न्यौपानेले सुझाव दिनुभयो । उहाँका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्