तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालका डा. राजन पाण्डे थारू ’रत्न‘ बाट सम्मानित

बाँके । थारू आयोगले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेलाई थारू रत्नबाट सम्मानित गरेको छ । थारू समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल  एनिमिया तथा थालेसेमिया रोगको पहिचान, उपचार र निदानका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सिकलसेल विज्ञ डा. पाण्डेलाई आज काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच आयोगले थारु रत्नबाट सम्मानित गरेको हो । आयोगबाट गैरथारु सम्मानित हुने डा. पाण्डे पहिलो व्यक्ति हुनुहुन्छ । यसअघि आयोगले थारुलाई मात्र सम्मान गर्ने गरेको थियो ।

डा. पाण्डे थारू समुदायलाई मात्रै लाग्ने  सिकलसेल एनिमियाको विज्ञसमेत हुनुहुन्छ । लुम्बिनी प्रदेशमात्रै नभएर कर्णाली र सुदूरपश्चिम प्रदेशकै ११ औँ तहका एकमात्र सिनियर चिकित्सक डा. पाण्डेले बिरामीको चेकजाँच र उपचारसँगै उनीहरूको अध्ययन गरी नीति निर्माण तहबाट त्यसको दीर्घकालीन समाधानको खोजी गर्ने काम गर्दै आउनुभएको छ । फलस्वरूप सिकलसेलका बिरामीले उपचार खर्च बापत अहिले एक लाख रुपैयाँ पाइरहेका छन् । त्यसैगरी स्थानीय सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा सिकसलसेल एनिमियालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्न थालेका छन् ।

डब्लुएचओ पेन प्लस कार्यक्रमका सिकलसेल विज्ञ समेत रहनुभएका डा पाण्डेले दिने सुझावले राज्यको नीतिगत व्यवस्थामा फेरबदल हुने गरेको छ । रक्तजन्य रोगहरूको नेपाल रणनीतिका मुख्य मस्यौदाकार डा पाण्डेले युरोपियन मुलुकसहित अहिलेसम्म २५ देशमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको अनुगमन, अवलोकनसहित कार्यपत्र प्रस्तुत गरिसक्नु भएको छ । अहिलेसम्म उहाँ २०७३ सालमा सम्माननीय राष्ट्रपतिबाट प्रबल जनसेवा श्री, २०७८ मा सुप्रवल जनसेवा श्री, २०७८ सालमै सम्माननीय पूर्व राष्ट्रपतिबाट बारबरा फाउण्डेसन पदक तथा पुरस्कार, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक बाट सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button