प्रतिनिधिसभाको बैठक आज पनि स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको आज आइतबार बोलाईएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी– नेकपामा सभामुखका बारेमा निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक पटकपटक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।
उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते दिउँसो १ बजे बस्ने गरी तोक्नुभएकोले आजको बैठक स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गर्नुभएको सूचनामा जनाईएको छ ।
प्रतिनिधिसभाको सभामुख पद हाल रिक्त रहेकोले सभामुख पदमा सत्तापक्ष नेकपाले आफ्नो उम्मेदवार बनाउन उपसभामुखले राजीनामा गर्नुपर्ने तर उपसभामुखले राजीनामा नदिदा सभामुखमा नेकपाले आफ्नो उम्मेदवार उठाउन नमिल्ने हुनाले नेकपा सचिवालयको हिजोको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो । तर उपसभामुखले राजीनामा गरिसक्नुभएको छैन् ।








प्रतिक्रिया राख्नुहोस्