सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानको लागि निःशुल्क रगत परीक्षण शिविर

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानको लागि निःशुल्क रगत परीक्षण शिविर सञ्चालन गरिएको छ ।
आजदेखि सञ्चालित शिविर १० दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र बेलौरी नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय कञ्चनपुरले शिविर सञ्चालन गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिविरको उद्घाटन गर्दै सिकलसेल एनिमिया सँगसँगै अन्य दीर्घ रोगहरूको पहिचान गर्न प्रदेश सरकार जनताको घर दैलोमा पुग्ने अभियानमा रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री शाहले प्रदेश सरकारले स्वास्थ्य र शिक्षा जनतालाई निःशुल्क प्रदान गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो । बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको र छिट्टै प्रक्रिया सुरु गर्ने उहाँले बताउनुभयो ।

शिविर उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँद, प्रदेश सभा सदस्य द्वय दिवानसिंह बिष्ट र गीता चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।
सिकेलसेलबाट डगौरा थारु र रानाथारु समुदाय बढी प्रभावित रहेकोले बेलौरीबाट निःशुल्क रगत परीक्षण शिविरको सुरुवात गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्