मधेश प्रदेश सरकारद्वारा ४४ अर्ब बढीको बजेट पेश
जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जय कुमार यादवले आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको अनुमानित आयव्यय सहितको बजेट प्रदेश सभाको बैठकमा पेश गर्नुभएको छ ।

बजेटमा चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात् कूल बजेटको ४१.३० प्रतिशत तथा पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ २० करोड अर्थात् ०.४५ प्रतिशत रहेको छ ।
आन्तरिक श्रोतबाट ४ अर्ब ३७ करोड ८१ लाख २ हजार, नेपाल सरकारको राजश्व बाँडफाँडबाट ११ अर्ब ३८ करोड १९ लाख, सामान्यीकरणतर्फ ७ अर्ब ४१ करोड ५० लाख, चालु आर्थिक वर्षको बचतबाट १२ अर्ब ९० करोड, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ९८ करोड, संघीय सरकारबाट सशर्त योजनाका लागि प्राप्त अनुदान ४ अर्ब ५६ करोड ८५ लाख गरी जम्मा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बेहोर्दा २ अर्ब न्यून हुने बजेटमा उल्लेख छ । न्यून बजेट पूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालन गरिने अर्थमन्त्रीले जानकारी दिनुभयो ।

सबैभन्दा बढी बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको छ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि साँढे पाँच अर्ब रकम विनियोजन गरेको छ ।
कृषितर्फ २ अर्ब ६५ करोड ८५ लाख २७ हजार विनियोजन गरिएको छ भने शिक्षा, खेलकुद, भौतिक पूर्वाधारको क्षेत्रमा पनि उल्लेख्य बजेट छुट्टाइएको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पूर्वाधार, पर्यटन, वन र वातावरणलाई उच्च प्राथमिकतामा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्