खोर नै रित्तिने गरि बाघले बाख्रा मार्यो बाख्रा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका धुसेनीमा बाघले ठूलो सङ्ख्यामा बाख्रा मारेको छ ।
गएराति एक किसानको ९ वटा बाख्रा बाघले मारेको वडा न ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो ।
इन्द्रावती गाउँपालिका ५ धुसेनीका चमेली विकको खोरमा नै पसेर बाघले ९ वटा बाख्रा मारेको हो । विकको कटेरोको गाह्रोमा लगाएको ढुङ्गा पन्साएर गोठमा पसी बाघले बाख्रा मारेको थियो ।
आयआर्जनको अन्य केही स्रोत नभएको र बाख्रापालनबाट नै आफ्नो जीविकोपार्जन गर्दै आइरहेकी विकको ९ वटा बाख्रा मारेपछि दुखी हुनुहुन्छ । अब के गरेर खाने विकले गहभरि आँसु राख्दै भन्नुभयो ।
बाघले गएराति नै धुसेनीकै रामकृष्ण विकको पनि एउटा बाख्रा मारेको छ ।
पछिल्लो समय वन्यजन्तुको आतङ्कबाट सिन्धुपाल्चोकका किसानहरू हैरान भएका छन् । बाँदर, बँदेल, मृग, हरिण जस्ता वन्यजन्तुले खेतबारीमा लगाएको बालीनाली खाएर हैरान भएका किसानहरू आफूले पालेका चौपायामाथि पनि बाघले आक्रमण गर्न थालेपछि झन चिन्तित भएका छन् ।
पछिल्लो केही समयदेखि इन्द्रावतीमा बाघ आतङ्क बढ्दै गएपछि वडा न ५ का अध्यक्ष आचार्यले बाघ आतङ्कका कारण पशुपालन व्यवसाय संंकटमा पर्न सक्ने चिन्ता व्यक्त गर्दै आफ्नो खोर र गोठलाई बन्दिलो बनाई बाघबाट सुरक्षित बनाउन कृषक किसानलाई आग्रह गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्