पदमार्ग निर्माणसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटक बढ्दै

म्याग्दी। म्याग्दीको उत्तरी अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ ।
अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोलासम्म २२ किलोमिटर मौरिस हर्गोज पदमार्ग निर्माण भएसँगै आधार शिविरमा पदयात्रामार्फत आउने पर्यटकको सङ्ख्या बढाएको हो ।
आधार शिविरको समथर फाँटमा निलो तलाउ, तलाउ नजिक रहेका अग्ला हिमाल, सूर्योदयले चम्केका सेताम्मे अन्नपूर्ण, निलगिरी लगायतले हिमालले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गरेको छ।
अन्नपूर्ण गाउँपालिकाले पर्यटन प्रवद्र्धन मार्फत गाउँपालिका आम्दानीको स्रोत र स्थानीयलाई रोजगारी बढाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविर पुग्ने करिब २२ किलोमिटरको मौरिस हर्गोज पदमार्गमा सहज पूर्वाधार निर्माणले पर्यटक आगमन बढाएको मौरिज हर्जोग पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

अन्नपूर्ण प्रथम, निलगिरी लगायतका हिमालहरू, निलो रङ्गको ठुलो आकारको पञ्चकुण्ड तालको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर २०६८ सालदेखि पदमार्ग, सडक, सेल्टर निर्माण कार्यलाई तीव्रता दिएको पर्यटन व्यवसायी एवम् मौरिज हर्जोग पदमार्ग निर्माण समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।
“पदमार्ग निर्माणले पर्यटकको आगमन बढाएको छ, हिमाल चढ्न आरोही, भरिया तल्लो पदमार्गमार्फत आउने क्रम बढेको छ।”– गुरुङले भन्नुभयो, “हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताललाई धार्मिक पर्यटनसँग जोडेर व्यवस्थित पूर्वाधार निर्माण कार्यलाई अघि बढाएपछि धार्मिक पर्यटक पनि आउने क्रम बढेका छन् ।”
सन् १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेपछि विदेशी पर्यटकको आगमन बढाएको थियो। यस क्षेत्रमा पुगेका विदेशी पर्यटकले सम्भावनालाई उजागर गरेका छन् भने पछिल्लो समय अन्नपूर्ण हिमाल चढ्ने आरोही पनि बढेका छन् ।

हिमालको आधार शिविरमा पुगेका युकेका स्टीभ बेटीनेसले प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माण गर्न सके नेपालको उत्कृष्ट सुन्दर पर्यटकीय गन्तव्यको रुपमा यस क्षेत्रलाई बनाउन सकिने बताउनुभयो । “हिमाल, पञ्चकुण्ड ताल, पदमार्गमा देखिने झरना, वन्यजन्तु तथा अनौठो भूगोलले यस क्षेत्रको पर्यटन विकास लागि बलियो आधार छ।”– स्टीभले भन्नुभयो, “यस क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र सुविधा विस्तारमा ध्यान दिनुपर्छ । ”
पर्यटन बोर्ड, एक्याप र गाउँपालिकाको सक्रियतामा चार हजार १९० मिटर उचाइमा रहेको उत्तरी अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग, झोलुङ्गे पुल र आश्रय स्थल लगायतको पूर्वाधारले पदयात्रालाई सहज बनाएको छ। वि.स. २०६८ मा पर्यटनको सम्भावना उजागर गरेको थियो ।

आधार शिविर पुगेका आन्तरिक पर्यटक तथा हिमाल चढाउने शेर्पाहरूले यस क्षेत्रमा विद्युत्, नेटवर्क सेवा, खानेपानी सुविधा, र आश्रय स्थलसहितको होटल सुविधा तत्काल निर्माण गर्न सकेको स्वदेशी तथा विदेशी पर्यटक आगमन बढ्ने देखिन्छ । यस क्षेत्रको पर्यटन विकासका लागि गाउँपालिकाले सञ्चार, खानेपानी, आश्रय स्थल थप, पदमार्गको स्तरोन्नति, गोदाम लगायतको पूर्वाधार विकासमा आगामी वर्षमा पहल गर्ने गाउँपालिका अध्यक्ष भारतबहादुर पुनले बताउनुभयो ।

नारच्याङ हुँदै–छोटेपा–हुमखोलासम्म २० किलोमिटर दुरीमा सडक सुविधासहित अन्नपूर्ण र निलगिरी खोलाको किनारै किनार, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पतिको जङ्गल, वन्यजन्तु, झरनाको अवलोकन गर्दै एक दिनमा आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर म्याग्दीमै पर्ने भएपनि आवश्यक प्रचारप्रसार नहुँदा म्याग्दीले लाभ लिन नसेको अवस्था छ ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका वडानम्वर ४ का वडाअध्यक्ष लोकबहादुर फगामीले पर्यटकलाई लक्षित गरेर बेनी– जोमसोम सडकदेखि नारच्याङ प्रवेशद्वारबाट हुमखोलाको सडकलाई स्तरोन्नति गर्ने योजना वडाको रहेको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्