तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक : बजेटमाथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान, बजेटमाथिको सामान्य छलफलमा सांसद विमलेन्द्र निधिले रामायण सर्किटको विकासबाट देश आर्थिक तथा सांस्कृतिक रुपमा समृद्ध बन्ने भएकाले यसको कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

सांसद निधिले बजेटले सबै क्षेत्रलाई समेटेकाले यसको सफल कार्यान्वयनबाट उपलब्धिहरू देखिँदै जाने बताउनुभयो ।

सांसद योगेश भट्टराइले प्रस्तुत बजेटमा चालु खर्च ९८ अर्बले बढेको भन्दै यो कस्तो किसिमको? बजेट कटौती हो? भनी प्रश्न उठाउनुभयो ।

आर्थिक संकट समस्यालाई समाधान गर्न विचार, विमर्श र गोलमेल सम्मेलन गर्नुपर्ने पनि सांसद भट्टराईले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो ।

यस्तै बैठकमा सांसद माधव सापकोटाले बजेट निर्वाहमुखी र परम्परागत भएको बताउनुभयो ।

सांसद विराजभक्त श्रेष्ठले बजेटले उपत्यकाको आवश्यकतालाई उचित ध्यान दिन नसकेको बताउनुभयो ।

सांसद बुद्धिमान तामाङले मुलुकमा व्यापार घाटा बढ्दो रहेकाले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरी पेट्रोलियम पदार्थको आयात कम गर्न जरुरी रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सांसद भानुभक्त जोशीले चालु खर्च घटाएर विकास निर्माणमा लगाउन सके त्यसबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

सांसद अब्दुल खानले छोटी भन्सारको विस्तारमा जोड दिन सके राजस्व बढ्ने भएकाले त्यसतर्फ ध्यान दिन माग गर्नुभयो ।

यस्तै सांसद रामप्रकाश चौधरीले बजेटमा पर्यटन प्रवर्द्धनका कार्यक्रम राखिनु सराहनीय भएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ २४ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button