बाढी तथा पहिरोको पुर्वतयारी र प्रतिकार्य प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास

सिन्धुपाल्चोक।जलवायुजन्य विपद् तथा मनसुनको पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेलम्ची र हेलम्बुका ६ स्थानमा कृत्रिम घटना अभ्यास तालिम सम्पन्न भएको । यु एस् एड (भ) को आर्थिक सहयोग प्राक्टिकल एक्सन र राइम्सको प्राविधिक सहयोगमा मेलम्ची नगरपालिका ,हेलम्बु गाउँपालिका, रेडक्रस र सुरक्षा निकायसँगको सहकार्य तथा समन्वयमा कृत्रिम घटना अभ्यास गरिएको हो ।
बाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनःताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बाढी तथा पहिरोमा आधारित कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल , नेपाल प्रहरी, तालिम प्राप्त स्थानीय लगायत प्राविधिक सहयोगमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको हो ।

घटना अभ्यासमा उद्धार गरी ल्याइएका घाइतेलाई नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारक टोलीले प्राथमिक उपचार सेवा प्रदान गरी एम्बुलेन्स मार्फत नजिकको अस्पतालमा पठाउने कार्य भएको थियो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेल लगायत स्थानीय सबै सरोकारवाला निकायको सहभागिता रहेको थियो । नगर प्रमुख तामाङले यस्ता खाले अभ्यासले बाढी तथा जलवायु जन्य विपद्को बखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रमुख तामाङले विपद् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने बताउँदै विपद्का काम गर्ने सबै सरोकारवाला सँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन नगरपालिका तयार रहेको बताउनुभयो । उपप्रमुख प्रधानले यस खालको स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्धारमा प्रयोग हुने साधन स्रोत र जनशक्तिको व्यवस्थापन प्रभावकारी हुने बताउनुभयो ।

विपदबाट क्षति पुग्ने र विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानीय समुदाय भएको हुनाले स्थानीय समुदायलाई विपद् जोखिम न्यूनीकरणमा जागरूक बनाउन, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटनाको समयमा प्रतिकार्यलाई प्रभावकारी तवरले परिचालित हुन समुदाय स्तरमा खोज तथा उद्धार कार्यदल गठन गरी खोज तथा उद्धार तालिमको आयोजना गरिएको सि डि इ सि एफ् का कार्यक्रम संयोजक इचछाराम सापकोटाले बताउनुभयो ।

समुदाय स्तरमा गठित कार्यदलहरूको खोज तथा उद्धार गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने तथा भविष्यमा हुन सक्ने मानवीय तथा आर्थिक भौतिक क्षतिलाई न्यूनीकरण गर्न सामुदायिक विपद व्यवस्थापन समिति र समिति अन्तर्गतको कार्यदललाई सङ्गठित गर्नका लागि तालिम प्रदान गरिएको थियो ।

उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका कार्यदलका सदस्यहरूको अगुवाइमा कृत्रिम घटना अभ्यास गरिएको हो । जसका लागि परियोजना स्थानीय सरकार, जल तथा मौसम विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसङ समन्वय र सहकार्य गरि मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्वसुचना प्रणाली स्थापना गरि रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्