तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रनगरमा बिहानैदेखि तनाव, पालिका तथा अध्यक्षको घरमा ढुङ्गामुढा

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका र पालिका अध्यक्ष राज कुमार महतोको घरमा विद्यार्थीले ढुंगामुढा गरेका छन् ।

चन्द्रनगर गाउँपालिका–२, स्थित चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीको समूहले गाउँपालिका र अध्यक्ष महतोको निजी निवासमा ढुङ्गामुढा गरेका हुन् । विद्यार्थी समूहले आइतबार एक्कासी पालिका अगाडि जम्मा भएर ढुंगामुढा सहित नाराबाजी गरेका थिए । उनीहरूले पालिका कार्यालयको झ्याल ढोकाको सिसा फोड्नुका साथै कार्यालय परिसरमा पार्किङ रहेको स्काभेरमा समेत क्षति पुर्‍याएका छन् । 

उनीहरूले अध्ययन गर्दै आएको इन्स्टिच्युटमा कुनै पनि व्यवस्थापन नगरेको आफूहरूको शैक्षिक भविष्य माथि खेलबाड गरेको विद्यार्थीहरूको आरोप छ । पालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याब लगायतको व्यवस्थापन नहुँदा पठनपाठन दयनीय बनेको विद्यार्थीहरूको भनाई थियो । उनीहरूले पालिका र प्रमुखसँग पटक पटक कुरा राख्दा पनि सुनुवाई नभएको बताए । 

यता गाउँपालिका कार्यालयले पालिकाको सार्वजनिक सम्पत्ति माथि ढुङ्गामुढा, आगजनी गरि क्षति पुर्‍याएको तथा कार्यालय सहयोगी माथि हातपात गरेको भन्दै कारबाहीको माग गरेको छ । आन्दोलनरत विद्यार्थीको समूह अराजक शैलीमा कुनै जानकारी विना तोडफोडमा उत्रिएको पालिकाले विज्ञप्ति मार्फत जनाएको हो । आमुख व्यक्तिको उक्साहटमा घटना गराएको पालिका प्रमुख महतोको दाबी छ ।

चन्द्रनगर गाउँपालिका–२, बबरगंजमा रहेको गाउँपालिका अध्यक्ष महतोको निजी निवासमा समेत विद्यार्थी समूहले तोडफोड तथा आगजनी गरेका छन् । उनीहरूले पालिका कार्यालय र गाउँपालिका अध्यक्षको घर अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । 

चन्द्रनगरमा २०७६ सालमा स्थापना भई सञ्चालनमा रहेको पोलिटेक्निक इन्स्टिच्युट शिक्षक तथा प्रधानाध्यापकको समेत नियुक्ति नभएका कारण अलपत्र अवस्थामा थियो पालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ । प्रयोगात्मक सामग्री सहितको ल्याब, पुस्तकालय लगायत कुनै पनि आवश्यक पूर्वाधार नभएको, साथै इन्स्टिच्युटको स्थापना देखि लेखा परिक्षण समेत गरिएको थिए ।  

यस पालिकामा पालिका अध्यक्षको रुपमा आएपछि आफूले यसको सुधारको लागि बैठक राखी चरणबद्ध विद्यार्थी, शिक्षक, सञ्चालक समितिको पदाधिकारी र कर्मचारीहरू समेतसँग छलफल गरिरहेको थिए । छलफलबाट यस इन्स्टिच्युट सञ्चालन र व्यवस्थापनको लागि विभिन्न पूर्वाधार निर्माणको तयारी तथा पालिका सभामा लैजाने समेत सहमति भएको थियो ।

शैक्षिक संस्थाको दिगो व्यवस्थापन तथा पारदर्शिता र गुणस्तरीय सुविधाको लागि पालिकाले गरिरहेको कार्यबाट अतालिएका समूहले विचलित बनाउने प्रयास गरेका पालिका प्रमुख महतो द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । पालिकाले घटनामा संलग्न दोषी जो कोही भएपनि छानविन गरी कारबाही गर्न माग गरेको छ । कार्यालय प्रमुख सहित कर्मचारी तथा पालिकाका प्रमुख समेत बाहिर रहेको अवस्थामा भएको साङ्घातिक हमला निन्दनीय रहेको पालिकाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button