लुम्बिनी प्रदेशले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने : स्वास्थ्यमन्त्री खनाल

बाँके । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको सुधारका निमित्त प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको टोलीसँग सोमवार आफ्नै कार्यकक्षमा आयोजित भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री खनालले प्रदेशका नागरिकको स्वास्थ्यका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
उनले अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । ‘उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नपरोस् भन्ने सवालमा सरकार गम्भीर छ उनले भने–‘अन्य क्षेत्रको बजेट कटौती गरेरै भएपनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छौ ।’ उहाँले पछिल्लो समय नसर्ने रोगको प्रभाव बढी देखिएकाले त्यसप्रति स्वास्थ्य मन्त्रालय सचेत र गम्भीर रहेको पनि बताउनुभयो ।
उहाँले ‘पछिल्लो समय नसर्ने रोगका कारण मानिसहरूले मृत्युवरण गरेका तथ्याङ्कहरू आइरहेका छन् यसबारेमा जनचेतना जगाउन आवश्यक रहेको बताउँदै प्रदेश सरकारले नसर्ने रोगको बारेमा सचेतना फैलाउन विभिन्न कार्यक्रमहरू समुदायस्तरमा लैजाने गरी योजना बनाइरहेको जानकारी गराउनुभयो ।’
स्वास्थ्य टोलीले नेपालगञ्जका २३ वटै वडामा खोप केन्द्रको भवन निर्माणका लागि बजेट उपलब्ध गराउन पनि स्वास्थ्यमन्त्री खनाललाई ध्यानाकर्षण गराइएको टोलीमा सहभागी जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।
त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–४ मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको सेवालाई थप प्रभावकारी गराउन पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई थप बजेट उपलब्ध गराएर यसको सेवालाई नागरिकमैत्री बनाउन पहल गरिदिन पनि टोलीले आग्रह गरेको जनस्वास्थ्य अधिकृत रोशनी पुनले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्