सवारी दुर्घटनामा युवकको मृत्यु, आक्रोशित स्थानीयद्वारा प्रहरी चौकी घेराउ
सर्लाही । सर्लाहीको मानपुरमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् ।
शनिवार राती बसबरिया गाउँपालिका–१, मानपुरको भित्री सडक खण्डमा एउटै दिसातर्फ जाँदै गरेको दुई मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका २० वर्षका रविन्द्र कुमार यादवको ज्यान गएको हो । सोही घटनालाई लिएर स्थानीयले ईलाका प्रहरी कार्यालय मानपुर घेराउ गरेका छन् ।
लापरबाही पूर्ण घटना भएको र प्रहरीलेसमेत लापरबाही गरेको स्थानीयको आरोप छ । बिहानैदेखि मृतकका आफन्त र सयौँको सङ्ख्यामा स्थानीय प्रहरी कार्यालय अगाडि जम्मा भएर विरोध जनाएका हुन् । जनप्रतिनिधिको रोहबरमा छलफल गरी अवस्था साम्य बनाउने प्रयास भइरहेको जिल्ला प्रहरीका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
गएराती मानपुरको भित्री सडकमा मृतक सवार प्रदेश २–०२–००१ प ११३४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बिआर ०६ एके २१७० नम्बरको मोटरसाइकले पछाडिबाट ठक्कर दिएको थियो । घटनामा गम्भीर घाइते भएका रविन्द्रलाई तत्काल बरहथवा स्थित ह्याप्पि केयर अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने भारतीय नम्बर प्लेट भएको मोटरसाइकलका चालक २१ वर्षका सुगन्ध यादव घटना लगतै फरार छन् । उनकाे खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न युवक बसबरिया गाउँपालिका–१, का पूर्व वडाध्यक्ष जयनारायण यादवको छोरा रहेको प्रहरीले जनाएको छ । मृतक रविन्द्रको शव परीक्षणको लागि जिल्ला स्थित प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ ।







प्रतिक्रिया राख्नुहोस्