तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विभिन्न कार्यक्रमलाई परिमार्जन गरी आत्मनिर्भर बनाउने खालको योजनालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो ।

file photo

उहाँहरूले प्रदेशको सबै जिल्लामा सरकारी अनुदानबाट सञ्चालित विद्यालयलाई गुणस्तरीय सेवा पुर्‍याउन शिक्षकको अपग्रेड गर्ने र नीति क्षेत्रका विद्यालयबाट राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र विभिन्न अभिभावकबाट आफ्नो बालबालिकालाई सरकारी स्कुलमा पठाउनेतर्फ प्रदेश सरकारले नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवदेखि लागू गर्न सुझाव दिनुभयो ।

यसैगरी, प्रदेशको काठमाडौँ लगायत अन्य जिल्लामा खानेपानीको समस्या निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्नुहुँदै उहाँहरूले नीति तथा कार्यक्रमले दुर्गम बस्तीका बासिन्दालाई पिउने पानी र सिँचाइको लागि योजनामा ल्याउन माग गर्नुभयो । बैठकमा नीति तथा कार्यक्रममाथि आदिवासी जनजाति, दलित, महिला सीमान्तकृत वर्गलाई आत्मनिर्भर हुने आर्थिक प्याकेजको कार्यक्रम ल्याउन र त्यस क्षेत्रमा सिँचाइको प्रबन्ध गरी कृषि उत्पादनलाई बढुवा दिन जनमुखी योजना ल्याउनुपर्नेमा उहाँहरूको जोड थियो ।

उहाँहरूले सडक सञ्जाललाई राष्ट्रिय राजमार्गसँग जोड्न र विपन्न नागरिकलाई सस्तो उपचारको क्रममा जिल्ला अस्पतालसम्म ल्याउने एम्बुलेन्सको व्यवस्था गर्न र स्थानीय निकायलाई स्वास्थ्यचौकीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले आगामी आर्थिक वर्षभित्र थप कार्यक्रम तर्जुमा गरी लागू गर्न आग्रह गर्नुभयो ।

बैठकको छलफलमा अधिकांश प्रदेश सभाका सदस्यले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने, खाद्यान्न बालीलाई प्रदेशभित्र सबै सर्वसाधारणको पहुँचमा पुर्‍याउन पायक पर्ने स्थानमा मलखाद्य कारखानाको स्थापना गर्ने, कृषकलाई मौसमी तरकारी खेती गर्न वित्तीय क्षेत्रको बैङ्कबाट ऋण उपलब्ध गराउने र कृषकले उत्पादन गरेको तरकारी, फलफूल खाद्यान्नलाई बजारको व्यवस्थापन मिलाउने कार्यमा ध्यान दिन कृषि मन्त्रालयले समन्वय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो ।

बैठकमा प्रदेश सभाका सदस्य क्रमशः सुरेन्द्रराज गोरसाईँ, दिलकृष्ण महर्जन, रघुनाथ महर्जन, आशा लामा, राजेन्द्र प्रजापति, नेत्रप्रसाद गोतामे, आनन्द श्रेष्ठ, उर्मिला खनाल, रामप्रसाद ढुङ्गाना, उर्मिला तामाङ, प्रभात तामाङ, दीपेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर भोमजन, माइली तामाङ, कुमारी लामा, भुवनेश्वरी श्रेष्ठ, कञ्चन बादे श्रेष्ठ रुकु चौलागाईं, प्रेमबहादुर पुलामी (छिन्तु), कुमारी तामाङ, ईश्वर सापकोटा, सुरेश श्रेष्ठ, गीता काफ्ले, सरल सहयात्री पौडेल, मोनिका श्रेष्ठ, श्रीराम लामिछाने, विनु रायमाझी पौडेल, कृष्णकुमार तामाङ, हरिप्रसाद सापकोटा, सृजना सैजू, धनश्याम प्रजापति, प्रेमभक्त महर्जन, सुकुमाया तामाङ, केशवप्रसाद पोखरेल, युवराज चौलागाईं लगायतले धारणा राख्नुभएको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक भोलि जेठ १९ गते बिहान साढे १० बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो । नीति तथा कार्यक्रम भोलि हुने बैठकबाट पारित हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button