तपाईँ सुन्दै हुनुहुन्छः

बथनाहा–विराटनगर रेल सेवा सञ्चालनमा : व्यवसायी, सर्वसाधारण उत्साहित

विराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म  कार्गो रेल सेवा सञ्चालनमा आएको छ । आज दिउँसो ध्वजा पताकाले सिँगारिएको कार्गो रेल विराटनगर आइपुगेको हो । 

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेसँगै बथनाहाबाट छुटेको रेल विराटनगर आइपुगेको हो ।

बथानाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीस्थित कष्टम यार्ड सम्मको आठ किलोमिटर रेलमार्गमा कार्गो रेल सेवा सुचारु भएको हो । 

बथनाहादेखि विराटनगर हुँदै कटहरीको महेसपुरसम्म १८ किलोमिटर लामो रेलमार्ग निमार्ण गर्ने लक्ष्य रहे पनि मुआब्जा विषयमा आएको विवादका कारण अहिले आठ किलोमिटर रेलमार्गमा सेवा सञ्चालन भएको हो ।  

विराटनगर आइपुगेको कार्गो रेललाई ठूलो सङ्ख्यामा सर्वसाधारण तथा उद्योगी व्यवसायीले स्वागत गरेका थिए ।

विराटनगरस्थित विभिन्न उद्योगका कच्चा पदार्थ बोकेर  रेल विराटनगर आइपुगेको हो । यसअघि बथनाहासम्म कच्चा पदार्थ आउने गरेको र त्यहाँबाट अनलोड भई मालवाहक सवारी साधन मार्फत उद्योग परिसरसम्म ढुवानी हुने गरेको थियो । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले बथनाहा–विराटनगर कार्गो सेवा सञ्चालनमा आएकोमा दुवै देशका प्रधानमन्त्रीलाई धन्यवाद दिनुहुँदै रेल सेवाले  विराटनगरको मात्र नभई कोशी प्रदेशको आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो । 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले रेल सेवा सञ्चालनमा आएपछि कच्चा पदार्थको ढुवानी भाडा कम हुने बताउँदै कटहरीको महेशपुरसम्म रेल सेवा सुचारु गर्न राज्यले पहल गर्नुपर्ने बताउनुभयो ।

रेल सेवा सञ्चालनमा आएपछि सर्वसाधारण समेत रोजगारी पाउने आशामा खुसी भएका छन् । विराटनगर–१८ का मनोज मण्डलले रेल सञ्चालनमा आएपछि  रोजगारी पाउन आफूहरूलाई सहज हुने बताउनुभयो । कार्गो सेवा जस्तै यात्रुवाहक रेल सेवा समेत सञ्चालन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button