तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रिय सम्पत्तिको रुपमा रहने महत्वपूर्ण अभिलेख सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्छ’

काठमाडौँ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय अभिलेखालय व्यवस्थापनका विषयमा सम्बन्धित मन्त्रालयलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । 

समितिको आज बसेको बैठकले राष्ट्रिय अभिलेखालयका प्रमुखसँगको छलफलपछि राष्ट्रिय अभिलेखको व्यवस्थापन र सुरक्षाका  सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई  बोलाएर छलफल गर्ने निर्णय गरेको हो । 

बैठकमा सदस्यहरुले राष्ट्रिय अभिलेख सुरक्षित गर्न राज्यले प्राथमिकता नदिएको भन्दै सम्बन्धित मन्त्रालयहरूलाई नै बोलाएर छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियो । 

समिति सदस्यहरुले राष्ट्रिय सम्पत्तिको रुपमा रहने महत्वपूर्ण अभिलेख सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

छलफलमा राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले स्रोत साधनको अभावमा राष्ट्रिय अभिलेख सुरक्षित गर्न समस्या परिरहेको जानकारी दिनुभयो । 

प्रमुख प्रधानाङ्गले कतिपय राष्ट्रिय महत्त्वका अभिलेख राज्यका तर्फबाट नै संरक्षण हुन  नसकेको र कतिपय ऐतिहासिक महत्त्वका सन्धि सम्झौताका मूलप्रति अभिलेखालयमा सुरक्षित नरहेको  जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button