हेलो नेपालसहित तीन वटा कम्पनीको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय सरकारद्वारा बदर

काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणले गरेको बिभिन्न तीन वटा कम्पनीको लाइसेन्स खारेज निर्णय बदर गरेको छ ।
मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले सरकारले हेलो नेपालसहित समयमै शुल्क नदिएको भन्दै स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णयलाई खारेज गरेको बताउनुभयो ।
सञ्चारमन्त्री बाँस्कोटाले ती कम्पनीहरुलाई किस्ताबन्दीमा शुल्क बुझाउने गरी व्यवस्था मिलाउन प्राधीकरणलाई लेखी पठाउने निर्णय गरिएको पनि जानकारी दिनुभयो ।
सरकारले द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवादहरूको निरूपण र प्रतिरक्षा गर्नका लागि अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा ८ सदस्यीय आवश्यक तयारी संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना मोरङलाई, नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर (काठमाडौं) र दुर्गालक्ष्मी श्रेष्ठ (गोरखा)लाई मनोनयन गर्ने निर्णय गरेको पनि सरकारका प्रबक्ता सञ्चारमन्त्री बाँस्कोटाले बताउनुभयो ।
यसैगरी मंत्रीपरिषद बैठकले विद्युत उपभोगकर्ता उद्योगी व्यवसायी र विद्युत प्राधिकरणबीच देखिएको विवादलगायतका विषय समाधानका लागि समिति गठन गरेको र महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका लागि थप राष्ट्रिय वन क्षेत्र (२९.६० हेक्टर) प्रयोग गर्न स्वीकृति दिएको पनि मंत्री बासकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्