तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम । जनकपुरधामको रजौलमा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा जेठ १५ गतेबाट राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा सात वटै प्रदेशका टिम सहभागी हुने नेपाल क्रिकेट संघ मधेश प्रदेश समितिले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

नेपाल क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा हुन लागेको महेन्द्र नारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडी सहभागी हुने संघका मधेश प्रदेश अध्यक्ष हिरा भगतले जानकारी दिनुभयो ।

प्रतियोगितामा मधेश, कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका टिम सहभागी हुने र प्रतियोगिता जेठ २६ गतेसम्म चल्ने जानकारी गराइएको छ ।

विजेता टिमलाई ३ लाख र उपविजेतालाई २ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको आयोजनाले खेलाडीहरूको क्षमता विकासमा थप मद्दत पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button