राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ

काठमाडौँ । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम माथि छलफल सुरु भएको छ ।
सभामा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी गर्नुभएको प्रस्ताव माथि छलफल प्रारम्भ भएको हो ।
छलफलमा भाग लिँदै सांसदहरुले वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या घटाउन मुलुकमै रोजगारीको सुनिश्चितता गर्नुपर्ने, सङ्घीयताको मर्मलाई आत्मसाथ गदै प्रदेश र स्थानीय तहलाई स्वायत्त बनाइनुपर्ने, वित्तीय संस्था, सहकारीको घरायसी अवस्थालाई सुधार गर्ने विषय नीति तथा कार्यक्रमले समेट्नुपर्ने बताउनुभयो ।
सांसदहरुले मुलुकको प्राकृतिक सम्पत्तिको सदुपयोग गरी आर्थिक उपार्जनमा टेवा पुग्ने कार्यक्रम ल्याइनुपर्ने, शिशु मृत्युदर, बालश्रम, बालविवाह अन्त्यको लक्ष्य प्राप्ति गर्न रणनीतिक कार्यक्रम ल्याइनुपर्ने सुझाव राख्नुभयो ।
यस्तै, शिक्षा क्षेत्रमा पाठ्यक्रमको सुधार आवश्यक रहेको, समय सान्दर्भिक व्यवहारिक शिक्षामा जोड दिइनुपर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कार्यान्वयनमा लैजान सांसदहरुले जोड दिनुभयो ।
सांसदहरु देवेन्द्र दाहाल, जितेन्द्रनारायण देव, राजेन्द्र लक्ष्मी गैरे, खिमबहादुर बुढा, खिमलाल देवकोटा, महेशकुमार महरा, शारदा देवी भट्ट, नारायण दत्त मिश्र, उदयबहादुर बोहोरा लगायतले नीति तथा कार्यक्रम माथिको छलफलमा धारणा राख्नुभयो ।
सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम आगामी बैठकमा समेत जारी रहेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउसो १ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्