तपाईँ सुन्दै हुनुहुन्छः

चिनारी बाख्रा तथा लोकल कुखुरा फर्ममा आगलागी

लमजुङ । लमजुङको मध्य नेपाल नगरपालिका वडा नं.१ जिताको देउरालीस्थित बाख्रा तथा लोकल कुखुराको फार्ममा आगलागी भएको छ ।

मंगलबार साँझ पौने ७ बजेतिर आगलागी हुँदा खसीबाख्रा र लोकल कुखुरा जलेर नष्ट भएको छ । आगलागी हुँदा एक सय २५ वटा खसीबाख्रा र दुई सय ७४ वटा लोकल कुखुरा मरेको प्रहरीले जनाएको छ ।

स्थानीय रमेश पौडेलले सञ्चालन गरेको चिनारी बाख्रा तथा लोकल कुखुरा फार्मममा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

डीएसपी रबिन्द्रमान गुरुङका अनुसार आगलागी हुदा फर्ममा रहेका एक सय ७० वटा खसीबाख्रामध्ये ४५ वटा र तीन सय लोकल कुखुरा रहेकोमा २६ वटा मात्रै सकुशल भेटिएको छ ।

आगलागीबाट बाख्रा र कुखुरा फार्म जलेर नष्ट हँुदा एक करोड ७१ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीले राति अबेर आगो निभाएपनि सबैतिर फैलिएकाले आगो तत्काल निभाउन नसक्दा धेरै पशु चौपाय र पन्छी साथै भौतिक संरचना नष्ट भएको स्थानीयले बताएका छन् ।

रातको समयमा भएकाले घटनाको यकिन विवरण लिन नसकिएको प्रहरी चौकी सोतीपसलका असई मनबहादुर गुरुङले बताउनु भएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय भोर्लेटार, प्रहरी चौकी सोतीपसल र प्रहरी चौकी दुईपिप्लेबाट प्रहरी खटेर गएको थियो ।

स्थानीयका अनुसार काठमाडौं बस्दै आएका पौडेलले तीन वर्षअघि करीब चार करोड रुपैयाँ लगानी गरेर खसीबाख्रा तथा लोकल कुखुरा पाल्दै आएका थिए ।

भौतिक संरचना बढाएर सबै गरी करीव पाँच करोड लगानी गरिएको उक्त बाख्रा तथा लोकल कुखुरा फार्मममा मंगलबार साँझ एक्कासी आगलागी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button