अवैध काठसहित दुईजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाट सेक्टर वन कार्यालय वाणीले अवैध काठसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिखरधुरा फर्निचर उद्योगका सञ्चालक जनकराज जोशी र समावेशी सामुदायिक वनका उपाध्यक्ष नरेन्द्र विष्ट रहेका छन् । वनका अध्यक्षको खोजी भइरहेको र अहिलेसम्म सम्पर्कमा नआएको सेक्टर वन कार्यालय वाणीका प्रमुख सलिना कडालले बताउनुभयो ।
सामुदायिक वनबाट काठ तस्करी भइरहेको सूचनाका आधारमा वन सुरक्षाकर्मीको टोलीले उनीहरुलाई गएराति दुई बजे पक्राउ गरेको हो ।
फर्निचर उद्योगमा राखिएको ३५ क्युफिट काठ बरामद गरिएको छ । बरामद गरिएको काठका तीनवटा गोलियाको लम्बाई ७ फिट रहेको वन कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्