आर्मी र खुमलटार बीचको खेल बराबरीमा सकियो
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबिचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मी र खुमलटार क्लबबिचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो । खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक–एक गोल गरे ।
यता खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समीरले एक–एक गोल गरे । खेलको १४ औँ मिनेटमा आर्मीका जगजितले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३५ औँ मिनेटमा खुमलटारका मेसुकेले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५१ औँ मिनेटमा आर्मीका नवयुगले गोल गर्दै खेललाई दुई–एकको स्थितिमा ल्याए ।
त्यसपछि खेलको ७५ औँ मिनेटमा खुमलटारका स्टेफेन समीरले गोल गर्दै खेललाई दुई–दुई गोलको बराबरीमा ल्याए । यसपछि खेलमा गोल हुन सकेन र खेल दुई–दुई गोलको बराबरीमा सकियो । यस बराबरी खेलसँगै आर्मीले १९ खेलमा २६ अङ्क जोडेको छ भने समान खेल खेलको खुमलटारले १८ अङ्क जोडेको छ ।








प्रतिक्रिया राख्नुहोस्