तपाईँ सुन्दै हुनुहुन्छः

सरकारका कारण प्रेस स्वतन्त्रता माथि कुनै खतरा छैन् : मन्त्री बास्कोटा

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संबिधानको मर्म बिपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैं राजीनामा दिएर आन्दोलनमा उत्रने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३औँ स्थापना दिवस समारोहमा आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रता माथि कुनै खतरा नरहेको बताउनुभयो ।

पत्रकारितामा एउटा कुरा भन्दा, पुर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ती हावी भएको छ उहाँले भन्नुभयो, म आफै पनि वर्षौसम्म पत्रकारिता गरेकै मान्छे हुँ । उहाँले पत्रकारको मर्म आफूले पनि बुझ्ने गरेको तर पत्रकारिता आचारसंहितामा रहेर गर्नुपर्छ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पार्दै अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्ने बताउनुभयो ।

‘अब कमिसन पत्रकारिता धेरै चल्दैन्,’ उहाँले भन्नुभयो ‘पत्रकारिता व्यवसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने बातावरण अब बन्नुपर्छ ।’

मन्त्री बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने बताउँदै आफु मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता कल्याण कोष स्थापना गरेको भन्दै अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पुर्याउने उद्देश्य लिएको बताउनुभयो ।

अनुशासन उल्लंघन गर्ने पत्रकारितालाई प्रेस स्वतन्त्रतासँग जोड्न मिल्दैन भन्दै उहाँले शंकाको भरमा पत्रकारिता गर्नु गलत भएको र गल्ती गर्नेलाई पनि छाड्न नहुने बताउनुभयो ।

सरकारको असन्तुष्टिसँग पत्रकारितालाई नजोडौँ भन्दै उहाँले मिडियाले गहिराईमा पुगेर लेखेमात्र तथ्य बाहिर आउने उल्लेख गर्नुभयो ।

अहिले प्रेस स्वतन्त्रता कुण्ठित हुन थाल्यो भनेर सरकारलाई औँला ठड्याउँदा भोली पत्रकारिताप्रतिको विश्वास नगुमोस् उहाँको भनाई थियो ।

पत्रकारिता अझै विश्वासनीय र खोजमुलक बन्नुपर्छ भन्दै उहाँले पुर्वदृष्टि राखेर समाचार लेख्न नहुने उल्लेख गर्नुभयो ।

पत्रकारितालाई भजन, मिसन, पार्टी पत्रकारिताबाट माथि उठाएर समृद्ध नेपाल, सुखी नेपाली अभियानमा जोड्नुपर्ने बताउनुभयो ।

आफू मन्त्री बनेपछि कमिसन दिन आउनेहरूको नामसहित लेख्नमा पनि आफू सक्रिय रहेको बताउनुभयो । बाँस्कोटाले आफुलाई काम गरिदिनु पर्यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलिप थापामगर, बरिष्ठ पत्रकार कविर राणा, महासंघका प्रदेश अध्यक्ष एन के दाहाल, महासचिव सृजन झा , सचिव अमर भुजु र जिल्लाका पुर्वअध्यक्ष नारायण किलम्बुलगायतले प्रेस स्वतन्त्रता हनन् हुने गरी ल्याएका विधेयकहरु सच्याउनुपर्ने सुझाव दिनुभयो ।

स्थापना दिवसको अवसर पारेर महासंघले दवाव साप्ताहिकका सम्पादक तथा महासंघ उपत्यका प्रदेश सचिव अमर भुजुलाई रु २५ सयसहितको मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार र ध्रुव मधिकर्मीलाई रु दश हजार सहितको स्वर्गीय भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button