इलाममा रग्बी प्रतियोगिता हुने
इलाम । इलाममा राष्ट्रिय रग्बी प्रतियोगिता हुने भएको छ । आगामी जेठ २६ गतेबाट माई नगरपालिका-४ शुक्रबारे बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने भएको हो ।
२० वर्ष मुनिका उमेर समूहको सहभागितामा प्रतियोगिता हुने छ । नेपाल रग्बी सङ्घको आयोजनामा हुन लागेको प्रतियोगिता प्रदेश रग्बी संघ, जिल्ला रग्बी संघ र माई नगर रग्बी सङ्घले संयोजन गर्ने जनाइएको छ ।

प्रतियोगितामा सात वटा प्रदेश र चार वटा क्लबका महिला तथा पुरुष खेलाडी सहभागी हुने छन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दुई सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सेभेन ए साइड संरचना अनुसार सञ्चालन हुने छ ।
प्रतियोगिताबाट नेपाली उमेर समूहको राष्ट्रिय टोली समेत छनौट गरिने नेपाल रग्बी संघ इलामका अध्यक्ष गंगा फियाक बिजुले जानकारी दिनुभयो । केन्द्रिय स्तरबाट इलाममा आयोजना हुने यो नै पहिलो राष्ट्रिय प्रतियोगिता हो ।
इलाममा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाले खेलकुद पर्यटनलाई टेवा पुग्ने जिल्ला खेलकुद विकास समिति इलामका प्रमुख नारायण भट्टराईले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि माई नगरपालिकाले खाना र आवासको व्यवस्थापन गरिदिने प्रतियोगिता तयारी समितिका सदस्य राजु लोक्तामले जानकारी दिनुभयो । पुरस्कार बारे निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

नेपाल रग्बी सङ्घले भर्खरै विश्व रग्बी सङ्घको सदस्यता प्राप्त गरेको कारण प्रतियोगिता आयोजना महत्वपूर्ण साबित हुने आयोजकको भनाई छ । नेपालले यस अघि २०१४ मा एसिया रग्बीको एसोशियट सदस्यता पाएको थियो । त्यसपछि २०१८ जुलाईमा पूर्ण सदस्यता पाएको थियो । नेपाल रग्बी सङ्घले गेट इन टु रग्बी कार्यक्रम देशैभर सञ्चालनसँगै घरेलु प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेको छ । गत भदौमा एसिया रग्बीले पूर्ण सदस्यताका लागि सिफारिसपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।
नेपाल रग्बी संघ इलाम २०७९ असार १२ मा गठन भएको थियो । छोटो समयमा इलाममा यसप्रति आर्कषण बढ्दै गएको छ । नवौं राष्ट्रिय प्रतियोगितामा इलाम विजयी भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्