सप्तरीमा ३ सय ८२ जना मिटरब्याजी पीडितले उजुरी दिए

सप्तरी । सप्तरीमा ३ सय ८२ वटा मिटर ब्याजविरुद्ध उजुरी परेको छ ।
कारले तीन सदस्यीय आयोग गठन गरेर मिटर ब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १२ दिनमा सप्तरीमा ३ सय ८२ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले अनुचित लेनदेन मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरेर धमाधम उजुरी लिइरहेको छ । उजुरी दिने अन्तिम दिन नजिकिँदै जाँदा पीडितहरू धमाधम प्रशासन आएर उजुरी दिएका छन् ।
सप्तरीसहित मधेश प्रदेशमा हालसम्म ३ हजार ७ सय ६९ जनाले उजुरी दर्ता गराएका छन् ।
सप्तरीमा ३ सय ८२, धनुषामा ८ सय १३, सर्लाहीमा ६ सय ३८, पर्सामा ६ सय, सिराहामा ४ सय ४३, महोत्तरीमा ३ सय ९३, बारामा ३ सय र रौतहटमा २सय उजुरी दर्ता भएको जनाएको छ ।
आयोगले मिटरब्याज पीडितहरूलाई वैशाख १७ गतेदेखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरेको थियो ।
यसैगरी आयोगले ७ दिन म्याद थप गरेको छ । अब पीडितहरूले जेठ ७ गतेसम्म उजुरी दर्ता गराउन सक्ने छन् । त्यसपछि जिल्ला प्रशासन कार्यालयहरूले आयोगमा अध्यावधिक गर्नेछन् ।
कतिपय उजुरीमाथि प्रशासनले मेलमिलाप गराएको बताइएको छ भने बाँकी उजुरीमा आयोगले नै छानबिन गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्