तपाईँ सुन्दै हुनुहुन्छः

पशुपन्छी पालनमा असफल भकतलाई कुकुरले दिलायो सफलता 

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–२ धौँकुचेमा सुरेश भकत बोहराको परिवार एक सानो पसल व्यवसाय सञ्चालन गरेर बसेको छ । 

उक्त व्यवसाय गरेका सुरेश भकत अहिले ३८ वर्षका हुनुभयो । १४ वर्षको उमेर देखी व्यवसायमा जोडिएका भकतले अहिलेसम्म सबै प्रकारका पशुपन्छी पालन गरिसक्नु भएको छ । 

उहाँले बाख्रा, भैँसी, गोरु, घोडा, सुँगुर, कुकुर, खरायो, कुखुरा, कालिज, हाँस, टर्की, च्याखुरा, मौरी लगायत यस क्षेत्रमा पालिने सबै पशुपन्छी व्यवसायीक रुपमा पालन गरीपनि कुनैमा सफल हुन सक्नु भएनन् । तर उहाँले विगत १५ बर्ष यता सञ्चालन गरेको कुकुर पालनले भने उहाँलाई निरन्तर आम्दानी दिइरहेको छ । 

उहाँले भन्नुभयो,‘स्थानीय बजार धान्ने गरेर ठिकै मात्रामा व्यवसाय सञ्चालन गरेको हुँ,कुनैपनी पशुपन्छी व्यवसायमा सफलता प्राप्त गर्न सकिन, मैले जीवनमा नगरेको काम सायदै होला तर कुकुर पालनमा भने म सफल भएजस्तो लाग्छ ।’

पशु पालनमा सफलता प्राप्त गर्न नसकेका भकतते अहिले आफ्नी छोरी लक्ष्मीलाई पशु विज्ञान विषय पढाइरहनु भएको छ । 

उहाँले पालन गरेको बेलायती कुकुरको छाउरा ८ हजार बढी रकममा बिक्री हुन्छ । उक्त छाउरा बिक्री गरेर मात्रै वार्षिक ८० हजार रकमसम्म आर्जन गर्दछन् भगत । उहाँले कुकुरका माउ भारतको पिथौरागडबाट ल्याएको सुनाउनुभयो आफूले पालेका कुकुरले वर्षमा २ पटक बच्चा पाउने गरेको उहाँले बताउनुभयो  ।

उहाँले पशुपन्छी पालन मात्रै नभएर सबै प्रकारको व्यापार समेत गरेको सुनाउनुभयो । विगतमा रेडियो, टिभी, टेप रेर्कडर बिक्री मर्मत व्यवसाय, होटल व्यवसाय र अन्य उपभोग्य बस्तुको व्यापार समेत गर्नुभयो तर व्यवसायमा समेत खासै सफलता प्राप्त नगरेपछि अहिले अटो चलाउन थाल्नुभएको छ । आधा रकम ऋण निकालेर ६ हजार ५० हजारमा अटो खरिद गरेका भकत अटो व्यवसाय बाटै दैनिक जीवनयापन गर्नुहुन्छ । 

भकतले १५ वर्षको उमेरमा १४ वर्षकी अमिता बोहरासँग बाल विवाह भएको सुनाउनुभयो । भकतको व्यवसायमा अमिताले साथ दिँदै आउनुभएको छ । उहाँकै सक्रियतामा भकतले २ ठाउँमा करिब २० रोपनी जमिन खरिद गर्नुभएको छ । 

कलाकारिता क्षेत्रमा समेत सक्रिय रहेका भकत मेला महोत्सवहरूमा नाटक देखाउने तथा बेलाबेलामा घरैमा मान्छेहरू जम्मा गरेर वाद्यवादनका साधन बजाउँदै गीत सङ्गीतमा व्यस्त देखिनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button