नेपाल भ्रमणका लागि अष्ट्रेलियावासीलाई आग्रह
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र त्यहाँ रहेका नेपालीलाई निमन्त्रणा गर्नुभएको छ ।
भ्रमण वर्ष सन् २०२० को अन्तरराष्ट्रिय रूपमा आज सिडनीमा औपचारिक शुभारम्भ गर्नुहुँदै उहाँले जीवनको नयाँ अनुभवका लागि नेपालको भ्रमण गर्न सबैलाई अनुरोध गर्नुभएको हो ।
प्राकृतिक हिसाबले विश्वकै धनी देश नेपालमा भ्रमण गर्न आग्रह गर्दै मन्त्री भट्टराईले लाइफ टाईम एक्सप्रियन्सका लागि नेपाल भ्रमण गर्न आग्रह गर्नु भयो ।
काठमाडौँ र अष्ट्रेलियाबीच सिधा उडानका लागि सम्झौता पछि कार्यान्वयनका लागि पहल भइरहेको भन्दै मन्त्री भट्टराईले डढेलोका कारण अष्ट्रेलियावासी जनतामा परेको समस्याप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति समवेदना प्रकट गर्नुभयो ।
सो अवसरमा न्यू साउथ वेयल्स राज्य संसद्का सभामुख जोनाथन वडीले नेपाल सुन्दर रहेको भन्दै भ्रमणका लागि धेरैभन्दा धेरै अष्ट्रेलियावासी जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका सम्पूर्ण नेपालीहरूमा आनुरोध गर्नुभयो । कार्यक्रम शुरु हुनुअघि सिड्नीको सर्कुलर क्येवमा मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवद्र्धन पनि गरिएको थियो ।
गैर आवासीय नेपाली महासङ्घ र न्यू साउथ वेयल्सको महावाणिज्य दूतावासको सहयोगमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले पनि नेपाल भ्रमण वर्ष २०२० मा अधिकभन्दा अधिक मलेसियालीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले मंगलवार क्वालालम्पुरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्