सरकारको ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित छ : अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा खर्च कटौती गर्ने कुनै योजना नभएको बताउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री डा. महतले विगतमा गरेका प्रतिबद्धतामा सरकार दृढ रहेको भन्दै सामाजिक सुरक्षा खर्च कटौती गर्ने कुनै योजना नरहेको स्पष्ट पार्नुभयो ।
मन्त्री डा.महतले सरकारको ध्यान मितव्ययिता कायम गर्ने,साधारण खर्च घटाउने,अनावश्यक संरचनालाई हटाउने र पुँजीगत खर्च बढाउने तर्फ केन्द्रित हुने उल्लेख गर्नुभयो ।
मन्त्री डा.महतले दिगो, फराकिलो र समुन्नत आर्थिक विकासका लागि पुँजीगत खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने र मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने नीति सरकारले लिने बताउनुभयो ।
मन्त्री महतले विधेयकका सिद्धान्तमा उठेका प्रश्नलाई स्वभाविक रुपमा लिएको भन्दै सांसद्हरुका खबरदारी र सुझावलाई उच्च महत्त्व दिने बताउनुभयो ।
छलफलका क्रममा सांसदहरुले दिगो, फराकिलो र समुन्नत आर्थिक वृद्धिका आधारहरू प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
छलफलका क्रममा सांसदहरुले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिई मल,बीउको व्यवस्था गर्ने, मल फ्याक्ट्री नेपालमा नै खोल्ने, राष्ट्रिय गौरवका आयोजना अगाडी बढाउने र पर्यटन प्रवद्र्धन गर्ने साथै भ्रष्टाचार नियन्त्रण सुशासन प्रबद्र्धन गर्ने खालका योजना अगाडी बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।
यस्तै सांसद्हरुले आगामी बजेटमा नवप्रवर्तन, रोजगारी सिर्जना गर्ने,सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने,र नागरिकलाई आर्थिकरुपमा सबल बनाउने,शिक्षाको गुणस्तर सुधार गर्नु पर्ने धारणा राख्नुभएको थियो ।
यो सँगै राष्ट्रियसभामा प्रिबजेट माथिको छलफल सकिएको छ ।
यस अघि शून्य समयमा बोल्दै सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद्हरुले नक्कली भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य बाहिर ल्याउनुपर्ने, सडक सुधार र स्तरोन्नति गर्नुपर्ने, नेपाली क्रिकेटको विकास र विस्तार गर्नु पर्ने, भ्रष्टाचार र अनियमितताका सन्दर्भमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने ,बढ्दो महँगी नियन्त्रण र जनताको जनजीवन सरल र सहज बनाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक जेठ ३ गते बुधबार साँझ साढे ६ बजे बस्ने छ ।







प्रतिक्रिया राख्नुहोस्