तपाईँ सुन्दै हुनुहुन्छः

‘शिक्षा सुधारसँगै शिक्षकमा उत्प्रेरणा पनि सँगै आउनुपर्छ’

काठमाडौँ । एजुकेशन इन्टरनेशलन (इआई)मा आबद्ध शिक्षक संघ सङ्गठनले शैक्षिक सुधारका लागि शिक्षक उत्प्रेरणा एकसाथ लैजान स्थानीय तहसँगको सहकार्यलाई तीव्र बनाउने जनाएका छन् ।

अन्तर्राष्ट्रिय शैक्षिक संस्था एजुकेशन इन्टरनेशलनमा आबद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियनले शिक्षक संघ सङ्गठनको भूमिकालाई समय सापेक्ष बनाउँदै शैक्षिक सुधारको अभियान तीव्र बनाउने जनाएका हुन् ।

काठमाडौँमा आज इआईमा आबद्ध तीन वटा संघ सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनियनका राष्ट्रिय अध्यक्ष होमकुमार थापाले तीनै तहका सरकारसँग शैक्षिक सुधारको अभियानमा अघि बढे पनि शिक्षकको मुद्दा ओझेलमा परिरहेको बताउनुभयो ।

उहाँले स्थानीय तहसँग सहकार्य गरेर विद्यालय शिक्षालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउन शिक्षकको महत्त्वपूर्ण भूमिका रहे पनि राज्यले प्रतिबद्धता गरेको अनुसारको शिक्षामा लगानी वृद्धि हुन नसकेको बताउनुभयो ।

नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ घिमिरेले सार्वजनिक शिक्षा सुधारसँगै शिक्षाकर्मीहरूको अधिकारलाई सुरक्षित गर्न शिक्षक नेतृत्व नयाँ रणनीतिका साथ अघि बढ्ने जमर्को गरिरहेको बताउनुभयो ।

उहाँले राज्यले शिक्षकलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म शिक्षामा लगानी र शिक्षकको सम्मानमा कुनै परिवर्तन आउन नसक्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले शिक्षा सुधारमा शिक्षकसँगै तीनै तहका सरकारले शिक्षालाई महत्त्व दिने र शिक्षक उत्प्रेरणालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले शिक्षक संघ सङ्गठनले समय सापेक्ष भूमिका परिवर्तनमा जोड दिँदै शैक्षिक सुधारलाई केन्द्रमा राख्ने अभियान अघि बढाइरहेको जानकारी दिनुभयो ।

एजुकेशन इन्टरनेशलन एसिया प्यासिफिक क्षेत्रका प्रमुख संयोजक आनन्द सिंहले गुणस्तरीय शिक्षाका लागि तालिम प्राप्त र उत्प्रेरित शिक्षक आवश्यक पर्ने भएकाले राज्यमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालको शिक्षामा सुधार ल्याउन शिक्षा प्रणालीमा सुधार र शिक्षकको सोच र ज्ञान समय सापेक्ष हुनुपर्ने बताउनुभयो ।

नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र संस्थागत विद्यालय शिक्षक युनियनले शिक्षामा लगानी बढाउनुपर्ने, समय सापेक्ष शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षकलाई तालिम, श्रम अधिकार र शिक्षकलाई अन्य सार्वजनिक सेवा जस्तै सम्मानजनक पेशाका रुपमा लिने ग्यारेन्टी गर्नुपर्ने लगायत विभिन्न माग राख्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button