तपाईँ सुन्दै हुनुहुन्छः

बेनी अस्पतालमा विशेषज्ञ सेवा विस्तार

म्याग्दी । दुर्गम हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ ।

प्रदेश लोकसेवा आयोगबाट पदस्थापन भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिन थालेका हुन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले चिकित्सकहरू थपिएसँगै विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गरिएको जानकारी दिनुभयो । “सर्वसाधारणलाई निजी क्लिनिक र जिल्लाबाहिर जानुपर्ने समस्या हटाउन जनशक्ति र उपकरण व्यवस्थापनसँगै पूर्वाधार निर्माणमा जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “दुई वर्षपछि अस्पतालको सुविधा सम्पन्न ५० शय्या क्षमताको भवन निर्माण पनि सुचारु भएको छ ।”

पछिल्लो समय फिजिसियन विशेषज्ञ, ज्येष्ठ नागरिक उपचार कक्ष, अत्याधुनिक एक्स–रे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग र फिजियोथेरापी सेवा सुरु गर्न लागेको जनाएको छ ।

यसअघि आठ जना मेडिकल अधिकृत र चिकित्सक कार्यरत अस्पतालमा यसै हप्ता लोकसेवा आयोग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप छ विशेषज्ञसहित नौ जना चिकित्सक आएका अस्पतालका प्रमुख चिकित्सक डा शङ्करराज लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button