काकाकुल बाइराँका गाउँ दशकौँदेखि खोलाकै दूषित पानीको भरमा

जुम्ला । तातोपानी गाउँपालिका वडा नंं. १ बाइराँका गाउँका मिन बहादुर शाहीका पाँच दशक बढी समय तिला नदीकै दूषित पानी पिएर बितिसके । अहिले गाउँमा लिफ्ट मार्फत पानी पुगे पनि पर्याप्त छैन । अझै खोलाकै पानीको भर छ । बाउ बाजेले खोलाकै पानी खाए, हामीले खायौ ।
उहाँले भन्नुभयो, “बाइराँका गाउँमा पानी पुराउने विषय चुनावी एजेण्डा मात्र बन्यो । हाम्रो दैनिकी फेरिएन । हरेक चुनावमा हुने पानी राजनीतिले निकास दिन सकेन । तर पछिल्लो समय धौलिगाड आयोजना बन्ने कुराले उत्साहित छौ ।”
बाउ बाजे देखि हामीले दूषित पानी खायौ । अब राष्ट्रिय महत्त्वको खानेपानी आयोजना बन्ने कुराले पछिल्लो पुस्ताले स्वच्छ पानी पाउँछ की भन्ने आशा पलाएको शाहीको भनाई छ ।
पानीले काकाकुल बाईराँका स्थानीय अहिले पनि तिला नदीको पानीको साहारामा बाचिरहेका छन् । धन्न हामी बाचेका छौ । रोग लागेको छैन । बाईराँका गाउँकी स्थानीय महिला छुमकली सार्कीले,भन्नुभयो,“बाईराँकामा पानी पुराउने आश्वासन २०६४ बाट हाल सम्मका सङ्घीय सांसद देखि स्थानीयतहका वडाध्यक्ष आश्वासन दिए । तर पानी पुगेन । जनंसंख्या बढ्दै छ । पानीको स्रोत कतै छैन । तीनै तहका सरकार हाम्रा समस्या प्रति अनुदार देखिए । हाम्रो प्यासको कसैलाई मतलब छैन । संविधानले दिएको स्वच्छ पानी पिउने अधिकार नै कुण्ठित भएको छ ।”
तर अब केही वर्षमा खानेपानी अभावका दुख बाट मुक्ति पाईने आशा पलाएको छ । पानी नपुगेको बस्ती बाईराँकामा चाडै पानी पुर्याइदिन समेत उहाँले माग गर्नु भएको छ ।

छुमकली र मिन बहादुर मात्र हैनन्, गाउँमा खानेपानी नहुँदा बाईराँका गाउँका झण्डै १ सय २० घरधुरी नै नदीको दूषित पानी पिउन बाध्य छन् । पानी पुराई दिने नाममा नेताले बाईराँकाबासीलाई भोट बैंकका रुपमा प्रयोग मात्रै गरे । स्थानीय बचन शाहीले भन्नुभयो,“गाउँमा पुगेको लिफ्टले प्रतिघरमा ४० लिटर मात्रै पानी भर्न मिल्छ । पर्याप्त खाने, सरसफाई गर्ने पानी छैन । हिउँद वर्षामा बग्ने तिलाकै दूषित पानी हाम्रो साहारा हो । काकाकुल गाउँको प्यास मेटाउन धौलिगाडलाई सम्पन्न गर्न सबैले सहयोग गर्नुको विकल्प छैन ।”
बिहीबार वडा नं. १ मा आयोजित धौलिगाड खानेपानी आयोजनाको अन्तरक्रियामा सहभागी बाईराँका बासीले दशकाै देखिको हाम्रो प्यास धौलिगाडले मेटाउने आशा पलाएको बताउनुभयो । यद्यपि,दोस्रो मेलम्चीका रुपमा प्रचलित आयोजनाले नागरिकलाई दीर्घकालीन सुविधा दिने नदिने, निर्धारित समयमै सम्पन्न हुने नहुनेमा शङ्का व्यक्त गर्दै आयोजना निर्माणमा कतै बाधा नल्याउने बाचा गरेका छन् । सङ्घीयताले पनि बाईराँकालाई नछोएको भन्दै चाडै घरघरमा धारा पुराउने जोडदार माग गरेका छन् ।
धौलिगाडले बाइराँकामा पानी पुर्याउने आशा
तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले काकाकुल बाईराँका गाउँमा पानी पुराउने पालिकाको पहिलो प्राथमिकता रहेको बताउनुभयो । बाईराकामा पानी पुराउन पालिकाबाट प्रयास नभएका हैनन् । विभिन्न कारणले उपलब्धी देखिएन । उहाँले भन्नुभयो,“साना टुक्रे योजना बनाएर दिगो समाधान हुदैन् । बाईराँकाबासीको समस्या समाधान तथा तीन पालिकाका नागरिकलाई शुद्ध पानीको पहुँच पुराउन धौलिगाड आयोजना कोशे ढुङ्गा सावित हुने छन् । निर्माण प्रक्रियामा सबैले सहज वातावरण बनाउनु पर्छ ।”
बाइराकामा वर्षौँदेखि चल्दै आएको पानी राजनीति अब धौलिगाडले अन्त्य गर्नेमा तातोपानी १ वडाध्यक्ष कर्ण बहादुर कुठायतले जोड दिनुभयो । स्रोत नहुँदा बाईराँका काकाकुल हुन पुगेको हो । बाईराँका गाउँमा पानी पुराउन आफ्नो पहल निरन्तर रहने उहाँको भनाई छ ।
तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बाईराँका गाउँ खानेपानीमा जिल्लाकै पिछडिएको गाउँ भएकोले आधारभूत आवश्यकता भित्र पर्ने पानी आपूर्तिका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । बृहत् धौलिगाड आयोजना सम्पन्न गराउन सबैको हातेमालो हुनुपर्नेमा उनको जोड छ ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका लेखापाल सन्तोष चौलागाँईले बृहत् धौलिगाड खानेपानी आयोजना आगामी आवमा आवश्यक बजेट सुनिश्चित भएको खण्डमा र नागरिकका निर्माणमा कुनै बाधा अड्चन नल्याएमा आगामी २०८१ मै आयोजनाको काम सकिने बताउनुभयो ।
यद्यपि, मौसमी प्रतिकुलता, बजेट अभाव, भौगोलिक विकटता नागरिकको असहयोग मुख्य चुनौतीका रुपमा रहेका छन् । आयोजनाप्रति नागरिकको बढ्दो आशा र सकारात्मक सोचले निर्धारित समयमै आयोजना सकिने उनको अपेक्षा छ ।
नेपाल पत्रकार महासङ्घ जुम्लाको सहजीकरण तथा सङ्घीय खानेपानी तथा ढल निकासा व्यवस्थापन आयोजनाको सहयोगमा बृहत् धौलिगाड खानेपानी आयोजनाले वडा वडामा अन्तरक्रिया अभियान चलाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्