काठमाडौमा शनिबार पाल्पा महोत्सवहुँदै
काठमाडौँ । पाल्पामा जन्मिएर काठमाडौँमा विभिन्न पेशा व्यवसाय अध्ययनमा रहेका व्यक्तिहरूको साझा संस्था पाल्पाली संगमले भोलि शनिबार काठमाडौँमा पाल्पा महोत्सव आयोजना गर्ने भएको छ ।
महोत्सवमा सहभागी भएकाहरूलाई स्वागत स्वरूप निःशुल्क पाल्पाली परिकार चुकाउनी चखाइने भएको छ ।
दही र आलुबाट बनाइने परिकारलाई पाल्पाली चुकाउनेको परिकार मानिन्छ ।
महोत्सवमा पाल्पाली ढाका, करुवा, कफी, बटुक लगायतका पाल्पाली उत्पादन तथा परिकारहरू पनि बिक्री वितरण गरिने उहाँले बताउनु भयो ।
महोत्सवमा नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, धिरेन शाक्य लगायतका झण्डै २० पाल्पाली कलाकारहरूको विशेष प्रस्तुती रहने संगमका महासचिव जीवन भण्डारीले बताउनु भयो । उहाँका अनुसार महोत्सवमा कौरा, सोरठी, ख्याली र चुट्का नृत्यसहित प्रत्यक्ष दोहोरी कार्यक्रम पनि हुनेछ ।
पाल्पाको विकासका लागि विषयगत संवाद, रणनीतिक छलफल, महोत्सव, उत्पादन प्रवद्र्धन, खाना, कला, संस्कृति प्रवद्र्धन, ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक क्षेत्रहरूको प्रचार प्रसार तथा मानवीय सहयोग लगायतका कामहरू पाल्पाली संगमको नेतृत्व र सहजीकरणमा हुँदै आएको छ ।
पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहेका पाल्पालीहरू अनौपचारिक रुपमा २०३२ सालदेखि सङ्गठित भएपनि औपचारिक रुपमा पाल्पाली संगमको दर्ता २०४८ साल वैशाख ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको हो ।
संगमले स्थापनाकालदेखि देश विदेशमा रहेका पाल्पालीहरूलाई अपनत्व, अभिभावकत्व, भावनात्मक र आर्थिक तथा भौतिक सहयोग गर्दै आएको अध्यक्ष खत्रीले बताउनु भयो । संगमले विभिन्न अक्षयकोष मार्फत हरेक बर्ष प्रोत्साहन तथा राहत सहयोग समेत दिने गरेको छ ।
पाल्पाली संगमले संस्थाको स्थापना दिवसको अवसरमा आयोजना गरेको महोत्सवबाट पाल्पाली कला, संस्कृति, पुरातत्त्व, खाना तथा उत्पादनहरूको प्रवद्र्धन हुने विश्वास लिएको छ ।
महोत्सव स्थलमा पाल्पाका १० वटै स्थानीय तहको फोटो प्रदर्शनी, भिडियो, तथा पुस्तकहरूको प्रदर्शन, बिक्री र वितरण गरिने व्यवस्था मिलाइएको छ ।
संगमले निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण र रक्तदान कार्यक्रम पनि पाल्पा महोत्सव स्थलमा गर्न लागेको छ ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट उद्घाटन हुने एक दिने महोत्सव बिहान १० बजे देखी बेलुकी ७ बजे सम्म चल्ने छ ।
झण्डै १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको सबै तयारी पुरा भएको आयोजक संस्था पाल्पाली संगमले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्