तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलीका सामाग्रीबाट चार करोड बढी राजश्व सङ्कलन

नवलपुर । भन्सार छलीका सामाग्रीबाट  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर प्रहरीले ४ करोड ६५ लाख ८५ हजार ८४० रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा उक्त रकम बराबरको राजश्व सङ्कलन गरेको हो । ९ महिनाको अवधिमा ३८ पटक विभिन्न प्रकारका भन्सार छलिएका सामाग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।  प्रहरी उपरीक्षक तिवारी अनुसार बरामद सामाग्रीलाई भन्सार चलान गरि उक्त राजश्व सङ्कलन गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयले भन्सार छली सहित विभिन्न प्रकृतिका कारबाहीबाट चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा कुल ७ करोड २० लाख ७० हजार ८९० राजश्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

उहाँका अनुसार भन्सार छलीपछि सबैभन्दा धेरै राजश्व ट्राफिक नियम उल्लङ्घन गरेका सवारीको कारबाहीबाट राजश्व सङ्कलन भएको छ । जस अनुसार नौ महिनाको अवधिमा २३ हजार २५० वटा सवारी कारबाहीबाट १ करोड ७९ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरिएको छ । कसुरजन्य सम्पत्ति लिलाम बिक्रीबाट ४१ लख ४३ हजार ३३२ , प्राकृतिक स्रोतको चोरी नियन्त्रणबाट २५ लाख ८ हजार ७०८ , काठ तस्करी नियन्त्रणबाट ६ लाख १६ हजार ७५ राजश्व सङ्कलन गरिएको छ ।

प्रहरीले चालु आर्थिक वर्षमा ५६ जनालाई जुवा तास खेल्दै गर्दा नियन्त्रणमा लिएको छ । जसबाट  २ लाख ७६ हजार ४३५ राजश्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपुरमा नौ महिनाको अवधिमा घरेलु हिंसाका ९६ वटा घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको चैत सम्ममा यो सङ्ख्यामा घरेलु हिंसाका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताउनुभयो 

चालु आर्थिक वर्षको साउनमा सबै भन्दा धेरै २१ वटा घटना दर्ता भएका छन् । सबैभन्दा कम फागुन महिनामा एउटा मात्रै घटना दर्ता भएको उहाँले बताउनुभयो । धेरै जसो पतिपत्नी बिचका घटना दर्ता भएको उहाँले बताउनुभयो । दर्ता भएका घटनामा महिला पीडित भएका घटना धेरै रहेका छन् । दर्ता भएका घटनामध्ये धेरैजसो मिलापत्र समेत भएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button