महाभारत गाउँपालिकाले वडा कार्यालयको भवन निर्माणमा तीव्रता दिँदै
बनेपा-जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिकाको वडामा वडा कार्यालयको भवन निर्माणको काम तीव्ररूपमा अगाडि बढिरहेको छ । वडा कार्यालयको अभावमा व्यक्तिको कच्ची घर भाडामा लिएर र टहरा बनाएर जसोतसो कार्यालय सञ्चालन गर्दै आएको सो गाउँपालिकाले सबै वडा कार्यालय भवन निर्माणलाई तीव्रता दिइएको हो ।
प्रदेश सरकार, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र स्वयं गाउँपालिकाबाट गरी आठ वडाको भवन निर्माणका क्रममा रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार वडा नं ५, ७, २ र ३ को प्रदेश सरकारको सहयोगमा निर्माणकार्य भइरहेको छ भने बाँकी वडा १, ४, ६, र ८ को जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र गाउँपालिका स्वयंको आर्थिक सहयोगमा निर्माणको चरणमा रहेको जनाएको छ ।
वडाको आवश्यक महत्वपूर्ण कागजात सुरक्षित राख्न समस्या भएको र सेवाग्राहीलाई सहज किसिमले सेवा दिनमा कठिनाइ झेल्नुपरेका वडा कार्यालयले जनाएका छन् । वडा कार्यालयको भवन नहुँदा सेवाग्राहीलाई सेवा दिनमा कठिनाइ झेल्नुपरेको वडा नं ५ का वडाध्यक्ष रविन मोक्तानले बताउनुभयो ।
एक तलाको चारकोठे ती भवन करीब रु ४४ लाख लागतमा निर्माणकार्य सम्पन्न हुनेछ । सो गाउँपालिकाभित्रको सबैभन्दा पहिलो भवन निर्माण सम्पन्न गर्ने वडा नं ५ बन्ने भएको छ । अरु बाँकी वडा ७, २ र ३ को पनि निर्माणको काम अगाडि बढिसकेको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको आर्थिक सहयोगमा बन्ने भवन भने करीब रु ८३ लाख लागतको हुने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्