तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : मोरङलाई पराजित गर्दै आयोजक फाइनल प्रवेश

भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङलाई हराउँदै आयोजक घरेलु टिम भोजपुर फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमा आयोजक भोजपुर जिल्ला फुटबल संघका तर्फबाट जर्सी नम्बर पाँचका खेलाडी रेमन उदासले एक गोल गरे भने डाँगीहाट यूथ क्लब मोरङका तर्फबाट जर्सी नम्बर छ का विशाल पाण्डेले एक गोल गर्दै खेललाई बराबरी बनाए ।

बराबर गोल भएपछि ट्राई बेकरमा खेलाइएको खेलमा भोजपुरका तर्फबाट नौ गोल भयो भने मोरङका तर्फबाट आठ गोल भयो ।

प्रतियोगिताको म्यान अफ द म्याच भोजपुरका जर्सी नम्बर २० का खेलाडी धिरज मगर भएका छन् । बुधवार हुने दोस्रो सेमिफाइनल खेल गत वर्षको विजेता गोर्खा ब्वाइज रुपन्देही र एभिनियर फुटबल क्लब क्यामरुनका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद ५ लाख र उपविजेताले नगद तीन लाख पाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button