तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा बास नेपालको भ्रष्टाचार न्यूनीकरण अभियान

जुम्ला । बढ्दो भ्रष्टाचार नियन्त्रण तथा रोकथामका लागि जुम्लामा ‘भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता अभियान’ थालिएको छ । स्थानीय तह, विषयगत कार्यालय लगायत अन्य सार्वजनिक निकायको सेवा प्रवाह र विकासमा हुने भ्रष्टाचारलाई रोक्न शुन्य सहनशीलता अभियान थालिएको हो । 

जुम्लाका युवा सम्मिलित बागेश्वरी असल शासन क्लब (बास) नेपाल संस्थाले जिल्लाभर भ्रष्टाचार रोक्न अभियान थाल्ने बासकी अध्यक्ष अनिता नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो,“अख्तियारको प्रतिनिधि निकायका रुपमा प्रशासनलाई साथ लिएर सबै स्थानीयतहमा भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता अभियान थालिने छ । नागरिक सचेतनामा जोड दिँदै विकास र सेवा प्रवाहका नाममा हुने भ्रष्टाचारलाई शुन्यमा झार्ने दुर्गामी लक्ष्य राखिएको छ ।”

गाउँमा भ्रष्टाचार विरुद्धको अभियान चलाउने,सार्वजनिक सेवा प्रवाहमा नागरिकको पहुँच वृद्धि गर्ने,भ्रष्टाचार विरुद्ध जनमत सृजना गर्ने,भ्रष्टाचार गर्ने व्यक्ति र निकाय विरुद्ध कानुनी शुन्य सहनशीलता कायम गरिने अध्यक्ष नेपालीको भनाई छ । 

उनका अनुसार भ्रष्टाचारमुक्त समुन्नत समाज निर्माण गर्ने,जनसहभागितालाई वृद्धि गर्ने,पारदर्शीता र जबाफदेहिता विकासका लागि काम गरिने छ । सङ्घीयतापछि स्थानीय तथा प्रदेश सरकारको कार्यशैलीबाट नागरिक असन्तुष्ट छन् । भ्रष्टाचार पनि उत्तिकै बढेको गुनासो छ । तर नागरिक सचेत नभएसम्म भ्रष्टाचार नरोकिने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो । 

मङ्गलवार जुम्लामा बास नेपालद्वारा आयोजित भ्रष्टाचार विरुद्धको शुद्धीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ केसरीले नागरिकको सचेतना बिना आर्थिक सुशासन कायम र भ्रष्टाचार निवारण असम्भव रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“एउटा कुनै व्यक्ति र संस्थाले चाहेर भ्रष्टाचार रोकिदैन् । सबै संयन्त्र चुस्त हुनुपर्छ । नागरिक सचेत बन्नुपर्छ । विकासमा हुने आर्थिक भ्रष्टाचार निवारण तर्फमात्र नभई सेवा प्रवाहमा हुने भ्रष्टाचार र ढिलासुस्तीका विरुद्धमा नागरिक सचेत हुन जरुरी छ ।”

गाउँमा निर्माण हुने हरेक योजनाको भुक्तानी हुनु पहिले अनिवार्य सार्वजनिक सुनुवाई गरेको हुनुपर्ने, सुनुवाई,सामाजिक परिक्षण गर्नुपर्ने,आयोजना सूचना पार्टी राखेको हुनुपर्ने, स्टमेट अनुसार गुणस्तर काम हुनु पर्छ । तिनै सुशासन कायम र भ्रष्टाचार निवारणका सूचक हुन् । तर उपभोक्ताहरू कुनै  सूचक पुरा गरेको स्थिति छैन । त्यसैले गाउँगाउँमा भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता अभियान चलाउन जरुरी रहेको उहाँको भनाई छ । 

गाउँमा विकास गर्ने हैन खाने हो भन्ने पद्धतिको विकास भएको छ । विकास र सेवा प्रवाहका नाममा अनुचित लाभ लिने,प्रक्रिया पुगेपनि कतिपय अवस्था सेवा दिन ढिलासुस्ती गर्ने,सरकारी सवारीको दुरुपयोग गर्ने जस्ता कुनै पनि घटना भएको खण्डमा सिधै प्रशासनमा उजुरी गर्न प्रजिअ केसरीले आग्रह गर्नुभयो  । 

बागेश्वरी असल शासन क्लब (बास) नेपाल जुम्लामा मङ्गलवारदेखि आधिकारी रुपमा दर्ता प्रक्रिया गई जुम्लालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने अभियान थालेको हो । बास नेपाल २०५७ सालदेखि भ्रष्टाचार निवारण,युवा सशक्तीकरणका लागि काम गर्दै आएको छ । 

मुलुकमा बढेको आर्थिक संकट,बजारमा बढेको कालो बजारी,विकासमा भएको मनपरी,सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती सबै भ्रष्टाचारका कारक हुन् । नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन र आर्थिक सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नागरिक अगुवा,प्रशासन सहित सबै संयन्त्रबीच क्रियाशील एकता हुन जरुरी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button