स्वास्थ्यमा सबैको पहुँच पुग्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सरकारी अस्पतालबाट प्रवाह हुने सेवामा सबै नागरिकको पहुँच पुग्नुपर्नेमा जोड दिनुभएको छ ।
बैठकमा सांसदहरु रामचन्द्र राई, राजेन्द्रलक्ष्मी गौरे, कुमार दौसौदी, शेखरकुमार सिंह, जयन्ती राई, गोपी अछामी लगायतले सरकारले स्थानीय तहमार्फत निःशुल्क वितरण गर्ने औषधिमा समेत सर्वसाधारणको पहुँच नपुगेको बताउनुभयो ।
विपन्नहरूमाथि खोपको क्लिनिकल ट्रायल भइरहेको भनी हालै सार्वजनिक भएको समाचारप्रति संसदहरुले बैठकमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरूले अझै गाउँगाउँमा उपचार नपाएर सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य नभएको भन्दै सरकारी अस्पतालहरूबाट प्रवाह गरिने सेवालाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सरकारले ३ सयभन्दा बढी स्थानीय तहमा ५, १० र १५ शैया र प्रदेशमा ५० शैयाको अस्पताल निर्माण गरिरहेको जानकारी दिनुभयो ।
उहाँले दुर्गममा स्वास्थ्यकर्मी पठाउने अधिकार मन्त्रालयलाई नभएको स्पष्ट पार्दै प्रादेशिक लोकसेवा मार्फत् स्थानीय तहमा स्वास्थ्यकर्मी खटाउने व्यवस्था रहेको बताउनुभयो ।
उहाँले विपन्नहरूको खोपको परीक्षण गरिएको भन्ने खबर सत्य नभएको स्पष्ट पार्नुभयो ।
त्यसैगरी मन्त्रालयका सचिव देशकुमारी गुरागाईँले पहिलाभन्दा सरकारी अस्पतालबाट प्रदान गरिने सेवामा प्रशस्त सुधार भएको बताउनुभयो ।
डेंगु नियन्त्रणका लागि विभिन्न निकायको सहकार्यमा मन्त्रालयले कार्ययोजना तयार पारेको पनि सचिव गुरागाईँले बैठकमा जानकारी गराउनुभयो ।
बैठकमा समितिका सभापति दिलकुमारी रावल पार्वतीले स्वास्थ्य क्षेत्रको सुधारका लागि समितिले आवश्यक निर्देशन दिने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्