रुपन्देहीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
रुपन्देही । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबारदेखि १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले खेलकुद एउटा महत्वपूर्ण विधा भएको र खेलको माध्यमबाट अन्तर्राष्ट्रिय देशहरूसँग सम्बन्ध गाँस्न सकिने हुँदा खेलकुद क्षेत्रमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले खेलकुदको विकासका लागि खेल प्रतियोगिताको आयोजना र खेलाडीहरूको संरक्षण जरुरी रहेको उल्लेख गर्नुभयो ।
जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष भूपेन्द्रबहादुर थापा क्षत्री हरिले आर्थिक सङ्कटका बाबजुद पनि प्रतियोगिता शुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपालिका नगरप्रमुख रामकृष्ण खाँण, देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल लगायत विभिन्न पालिका प्रतिनिधिले धारणा राख्नुभएको थियो ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, शुद्धोदन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकाले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा फिल्डतर्फ हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सर्ट फुट तथा ट्र्याकतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटर हुनेछ । रिलेतर्फ ४–१ सय मिटर, ४–४ सय मिटर, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु लगायत खेलहरू हुने र खेलमा छात्र–छात्रा दुवैलाई समावेश गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्