महिला दिवसका अवसरमा श्रमिक महिला सम्मानित

दाङ । ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा श्रमिक महिलाहरूलाई सम्मानित गरिएको छ । विभिन्न क्षेत्रमा श्रम गर्दै आउनुभएका सात जना महिला श्रमिकलाई औपचारिक कार्यक्रम गरेर सम्मान गरिएको हो ।
तुलसीपुर ७ की मिस्त्री काम गर्दै आउनुभएकी शिला चौधरी, लिला चौधरी, ज्याला मजदुरी गर्दै आउनुभएकी तुलसीपुर १६ की बिना परियार, तुलसीपुर ९ की सम्झना केसी, तुलसीपुर १३ की तुलसी हमाल तुलसीपुर ६ की राधा विक र तुलसीपुर ५ की उद्यमी शारदा अधिकारीलाई नगदसहित सम्मान गरिएको हो ।
सम्मानित हुने वडा नम्बर ७ कि शिला चौधरीले १५ वर्षदेखि गाउँ समाजमा मिस्त्री काम गर्दै छोराछोरीलाई पढाउँदै आएको बताउनुभयो । उहाँले महिला मिस्त्रीका रुपमा काम गर्दै जाँदा समाजले पछिल्लो समयमा कामप्रति विश्वास गर्दै गएको र सम्मानित भएपछि काम गर्नका लागि उत्साहित बनाएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवं नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि टीकाराम खड्काले महिलाहरूको सम्मान स्वरूप सुत्केरी महिलाहरूलाई पाँच हजार र सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण भएका छात्रालाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्