तातोपानीमा बाल संरक्षणका लागि पञ्चवर्षीय कार्ययोजना तयार

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले बालमैत्री तथा बालविवाहमुक्त गाउँपालिका बनाउन पाँच वर्षे रणनीतिक कार्ययोजना तयार गरेको छ । आगामी २०८३ सम्म तातोपानीलाई बालविवाहमुक्त र बालमैत्री पालिका बनाउन ५ वर्षे रणनीतिक कार्य योजनाको मस्यौदा तयार भएको हो ।
तातोपानीले आफ्नो १२ औँ गाउँसभाबाट बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीति तयार गर्ने नीति पारित गरेको थियो । सोमबार सम्पन्न दुई दिने कार्यशाला गोष्ठीबाट पाँच वर्षे रणनीतिक कार्य योजनाको मस्यौदा समेत तयार भएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार जिल्लाकै पहिलोको बालमैत्री पालिका बनाउन सबै जनप्रतिनिधि प्रतिबद्ध रहेका छन् ।
बालबालिका संरक्षणका लागि पञ्चवर्षीय रणनीतिक कार्ययोजना निर्माण गोष्ठीमा सहभागी तातोपानीका जनप्रतिनिधिले ४ वटा कार्य योजनाको मस्यौदा तयार गरेका छन् । पाँच वर्षमा ‘तातोपानीका महिला बालबालिकामा हुने दुर्व्यवहार श्रम शोषण, बालविवाह अन्त्य हुने छ, बालबालिका पोषणयुक्त हुने छन्, लैगिक विभेद अन्त्य बालमैत्री नीति निर्माण र सशक्तिकरण भएको हुने छ र स्थानीयतहमा भएको स्रोत साधनको बाँडफाँडमा बालबालिकाको सहभागिता सुनिश्चित हुने छ ।’
उल्लेखित ४ वटा कार्य योजनाको प्रारम्भिक मस्यौदा दुई दिने जनप्रतिनिधिको कार्यशाला गोष्ठीले पारित गरेको किर्डान नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताउनुभयो । कार्ययोजना अनुसार ५ वर्षमा ९ सय ७१ वटा विभिन्न गतिविधि सञ्चालन हुने छन् । उनका अनुसार तातोपानीका ८ वटै वडामा बालविवाह न्यूनीकरण, लागु औषध दुर्व्यसनी नियन्त्रण,बालमैत्री पूर्वाधार निर्माण,बालमैत्री ऐन नीति निर्माण लगायतका साढे ९ सय बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन हुने छन् ।

जनप्रतिनिधिलाई अधिवक्ता पदम बहादुर शाहीले बाल अधिकारका कानुनी व्यवस्था, समस्या पहिचान, समाधानका विकल्पका बारेमा कार्ययोजना बनाउन प्रशिक्षण दिनुभएको छ । बालमैत्री नीति निर्माण, पूर्वाधार निर्माण, सेवा प्रवाहमा जोड दिँदै पाँच वर्षमा बालमैत्री र बालविवाह मुक्त पालिका घोषणा गरेरै छाड्ने तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताउनुभयो । उहाँले भन्नुभयो,“पाँच वर्षे रणनीतिक कार्ययोजना अक्षरंश पालना गरिने छ । मस्यौदालाई अन्तिम रूप दिन विज्ञसँग छलफल गरिने छ । यसै आर्थिक वर्षबाट कार्ययोजना अनुसारका काम अघि बढ्ने छन् ।” साथै पालिकाभरका सबै उमेर समूहका बालबालिकाको लगत सङ्कलनको काम समेत अघि बढेको छ ।
कार्ययोजना अनुसार साढे २ करोड खर्च हुने
तातोपानी गाउँपालिकालाई पाँच वर्षमा बालमैत्री पालिका घोषणा गर्ने रणनीतिक कार्ययोजना अनुसार साढे २ करोड बढी बजेट खर्च हुने अनुमान छ । कार्ययोजना अन्तर्गतका ९ सय ७१ वटा गतिविधि सञ्चालनका लागि अनुमानित २ करोड ७४ लाख बजेट खर्च हुने बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“बालमैत्री पालिका बनाउन तातोपानीले सम्बन्धित दातृ निकायसँग समन्वय गरी काम गर्ने छ । दातृ निकाय र पालिका बीचको समन्वयका आधारमा बजेट व्यवस्थापन गरिने छ ।”
तत्कालै तातोपानीले बालबालिकाको प्रोफाइल तयार गर्ने कार्यलाई अघि बढाउने छ । भने,पालिकाका ८ वटै वडा र बस्ती बस्तीमा कार्ययोजना अनुसारको जनचेतना अभिवृद्धि गर्न जनप्रतिनिधि, शिक्षक, अभिभावक, नागरिक अगुवा लगायतका सरोकारवाला निकाय खटिने तातोपानीका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
उहाँका अनुसार बालविवाह मुक्त पालिका बनाउन पञ्चवर्षीय रणनीतिक कार्ययोजना काशेढुंगा सावित हुने छ । पालिकाले आगामी नीति तथा कार्यक्रममा बाल सहभागितालाई जोड दिइने र उनीका सवाललाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।
वल्र्डभिजनको सहयोगमा किर्डाक नेपालद्वारा सञ्चालित समुदायमा आधारित बाल स्पन्सर तथा बाल संरक्षण परियोजनाको सहयोग तथा तातोपानीको आयोजनामा बालबालिका संरक्षणका लागि पञ्चवर्षीय रणनीतिक कार्य योजनाको मस्यौदा तयार भएको हो ।








प्रतिक्रिया राख्नुहोस्