बागमती प्रदेशमा एमालेले तत्काल सरकार नछाड्ने

मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने भएको छ । नेकपा एमालेले केन्द्रबाट सरकार छोड्नका लागि निर्देशन नआएसम्म प्रदेश सरकारबाट नबाहिरिने र तत्काल त्यस्तो निर्देशन नआएको एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।
नेकपा एमालेका मन्त्रीहरूले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोडे पनि प्रदेशमा भने तत्काल सरकार छोडी हाल्ने अवस्था नरहेको उहाँले बताउनुभयो । प्रदेश सरकार छोड्दा सबैतिर एकै पटक छोड्ने साथै एमालेले नेतृत्व गरेका प्रदेश सरकारबाट पनि तत्काल माओवादीले समर्थन फिर्ता नलिएको र मन्त्रीहरूले नछोडेको अवस्था रहेको बताउनुहुँदै उहाँले अहिले तत्कालकालागि प्रदेश सरकार नछोड्ने र पार्टी केन्द्रबाट निर्देशन आएपछि सरकार छोड्ने तयारीमा रहेको बताउनुभयो ।
केन्द्रीय तहमा राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछोड्ने एमालेको निर्णय भएपनि सोमवारै सरकार छाडेको छ । बागमती प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री हुनुहुन्छ । केन्द्रीय निर्देशन प्राप्त भएको खण्डमा भने एमालेका मन्त्री तत्काल सरकार छोड्ने मुडमा हुनुहुन्छ । बागमती प्रदेश सरकारमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ भने एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री हुनुहुन्छ । बागमती प्रदेशमा एमालेका २७ जना सासद हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्