निधि प्रजातान्त्रिक आन्दोलनका विशिष्ट पहिचान : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिंसा, लोकतन्त्र र सामाजिक न्यायका पक्षधर महेन्द्रनारायण निधि नेपालको प्रजातान्त्रिक आन्दोलनको विशिष्ट पहिचान भएको बताउनुभएको छ ।
निधिको १०१ औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उहाँले विचार, निष्ठा, संस्कृति, अनुशासन र पद्धति सिकाइराख्ने प्रेरणाको अनन्त स्रोतका रूपमा निधि रहनुभएको बताउनुभयो ।

विपी कोइराला, गणेशमान सिंह वा कृष्णप्रसाद भट्टराई लगायत नेताले पनि निधिको निष्ठा, संस्कार, समर्पणलाई अनुसरण गर्दै आएको जनाउँदै उहाँले सबैले निधिलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र र प्रजातन्त्रप्रतिको निष्ठाबाट कहिल्यै विचलित नभएका निधिको सादगी जीवन सबैका निम्ति प्रेरणादायी रहेको बताउनुभयो । नयाँ पुस्ताले निधिबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले निधिको मूल्य, मान्यताप्रतिको समर्पण सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निधि लोकतन्त्रवादी, अहिंसावादी, गान्धीवादी र राष्ट्रवादी नेताका रूपमा रहनुभएको बताउनुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मधेसको विशिष्ट स्थान रहेको उल्लेख गर्दै जनकपुर लोकतन्त्रको केन्द्रमा रहेको बताउनुभयो ।
कांग्रेस नेता विमलेन्द्र निधिले शान्तिपूर्ण आन्दोलनको बाटो अँगाल्नु भनेर निधिले बारम्बार आवाज उठाउँदै आएको बताउनुभयो । शान्तिपूर्ण आन्दोलनबाट गणतन्त्र, सङ्घीयता, समावेशीता लगायत उपलब्धि प्राप्त भएको स्मरण गर्दै उहाँले सबैले राजनीतिमा शान्तिपूर्ण मार्ग अँगाल्नुपर्ने बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरदसिंह भण्डारीले उच्च आदर्श र मूल्यको नेताका रूपमा निधि रहनुभएको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले प्रतिष्ठानले निधिको स्मृतिमा अस्पताल र नर्सिङ क्याम्पस सञ्चालनमा ल्याएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्