तपाईँ सुन्दै हुनुहुन्छः

मच्छिन्द्र र त्रिभुवन आर्मी सेमिफाइनलमा

काठमाडौँ । काठमाडौँमा जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका छन् ।

शुक्रबार भएको दोस्रो खेलमा मच्छिन्द्रले २–१ गोलले चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

टाइब्रेकरमा न्यु रोड टिम (एनआरटि) लाई ५–४ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सीधै टाइब्रेकरबाट लिइएको थियो ।

शनिबार हुने अन्तिम क्वाटर फाइनलमा आयोजक केपी ओली क्लब र जावलाखेल यूथ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

आर्मीले अब फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ । बिहीबार भएको उद्घाटन खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई २–१ ले हराएको थियो ।

युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रथम हुनेले १० लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button