‘प्रदेश डायरी’ कार्यक्रम प्रसारण गर्ने सम्बन्धी सम्झौता

जनकपुरधाम । मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबाट प्रसारण हुँदै “प्रदेश डायरी” कार्यक्रमले चालु आर्थिक वर्षमा निरन्तरता पाएको छ ।
मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री शुत्रधन प्रसाद सिंहको उपस्थितिमा मन्त्रालयका सचिव रामकुमार महतो तथा रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्रका कार्यालय प्रमुख रामपुकार रामले कार्यक्रम “प्रदेश डायरी” प्रसारण सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर गर्नुभएको छ ।
गत आर्थिक वर्षदेखि सञ्चालन हुँदै आएको प्रदेश डायरीमा प्रदेश सरकारको सम्पूर्ण गतिविधिहरू, विकास निर्माणका कामकाज तथा योजनाहरूको विषयमा तयार पारिएको कार्यक्रम, समाचारहरू प्रसारण हुँदै आएको छ ।
प्रत्येक हप्ताको बुधवार, शनिवार तथा सोमवार गरेर ३ दिन प्रदेश डायरी सञ्चालन हुँदै आएको छ ।
सम्झौता सम्बन्धी पत्र मन्त्रालयको तर्फबाट हस्तान्तरण गर्नुहुँदै मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री सिंहले प्रदेश सरकारले गरेको काम, कार्यक्रमहरू, प्रदेश सरकारको नीति तथा कार्यक्रमहरू सम्पूर्ण प्रदेश तथा देश विदेशमा पुर्याउँदै आएको रेडियो नेपालको प्रदेश डायरीलाई निरन्तरता दिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश डायरी निक्कै प्रभावकारी कार्यक्रम भएको उल्लेख गर्नुहुँदै आगामी दिनमा अझै बढी प्रभावकारी तथा समसामयिक बनाउनका लागि आग्रह गर्नुभयो ।
प्रदेश डायरी चालु आर्थिक वर्षको सुरुदेखि नै रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्रको मिडिएम वेभको अर्थात् एमको ११४३ मेघा हर्ज तथा एफ एमको १०३ मेघाहर्जका साथै रेडियो नेपालको अन लाइनबाट देश तथा विदेशमा प्रसारण हँुदै आएको छ । यसका साथै रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबाट बर्दिबास नगरपालिकाको प्रायोजनमा सञ्चालन हुँदै आएको “हाम्रो बर्दिबास तथा राम्रो बर्दिबास” कार्यक्रम पनि प्रत्येक महिनाको पहिलो तथा तेस्रो आइतबार प्रसारण हुँदै आएको छ ।
यसैगरी मलंगवा नगरपालिकाको प्रायोजनमा “हाम्रो मलंगवा तथा प्यारो मलंगवा” कार्यक्रम महिनाको अन्तिम मङ्गलवार प्रसारण केन्द्रबाट कार्यक्रम उत्पादन भएर प्रसारित हुँदै आएको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासका कार्यालय प्रमुख रामले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्