सरकारले आकस्मिक रुपमा घोषणा गर्ने बिदामा बैंकले सेवा दिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाको कार्यालय समयसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ ।
सरकारले आकस्मिक रुपमा घोषणा गर्ने सार्वजनिक बिदाका दिन पनि अब बैङ्क तथा वित्तीय संस्थाले सेवा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको हो ।
‘बैंकले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ संशोधनमा संशोधन गर्दै राष्ट्र बैंकले आजबाट यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।
“नेपाल राष्ट्र बैङ्कबाट जारी भएको बैङ्क बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, रियल टाइम ग्रस सेटलमेन्टलगायतका अत्यावश्यक बैङ्किङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैङ्क तथा वित्तीय संस्थाका कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्नेछ”, राष्ट्र बैङ्कको निर्देशनमा भनिएको छ ।
यसअघि बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्क खुलेको दिनबाहेक अन्य दिन सेवा दिनुपरेमा बैङ्क तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पूर्व जानकारी गराउनुपर्ने व्यवस्था रहेको थियो । तर, अब आकस्मिकरुपमा घोषणा गरिएका सार्वजनिक बिदामा बैङ्क तथा वित्तीय संस्थाले अनिवार्यरुपमा सेवा दिनुपर्नेछ । रासस






प्रतिक्रिया राख्नुहोस्