तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान शुरु  

विराटनगर । विराटनगर महानगरपालिकाले आजदेखि महानगरमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान शुरु गरेको छ । महानगर परिसरमा सञ्चालित स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दै महानगरपालिका मेयर नागेश कोइरालाले अभियानको शुभारम्भ गर्नुभयो । 

विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधी सेवन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो  । 

सरकारले सञ्चालन गरेको अभियानलाई साथ दिएर विराटनगरबाट मात्रै होइन नेपालबाट हात्तीपाइले रोग निवारण गर्नु जरुरी रहेको भन्नुहुँदै मेयर कोइरालाले त्यसका लागि औषधी खान मिल्ने सबै उमेर समूहका व्यक्तिहरूलाई औषधी खान आग्रह गर्नुभयो । 

सो अवसरमा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, निजी अस्पतालहरूको छाता सङ्गठन (अफिन)का अध्यक्ष डा. शङ्कर अधिकारी, कोशी अस्पतालका मेसु डा. रविनराज सिंह, वडाध्यक्षहरू, कार्यपालिका सदस्यका साथै कर्मचारीहरूले समेत औषधि सेवन गर्नु भएको थियो । 

महानगरका १९ वटै वडामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरूले औषधी खुवाउने छन् । औषधि खान मिल्ने महानगरको योग्य जनसङ्ख्या ८० प्रतिशतलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो  ।

नेपाल सरकारले आजदेखि  हात्तीपाइले रोग देखिएका १५ जिल्लामा  औषधि सेवन कार्यक्रम सञ्चालन गरेको छ । फागुन २५ गतेसम्म झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिनेछ । 

यही २५ गतेसम्ममा ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । सरकारले सन् २००३ देखि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी अभियान सञ्चालन गरेको थियो । तीमध्ये ४८ जिल्लामा बिरामी फेला नपरेकाले तिनमा औषधि खुवाउन बन्द गरिसकेको छ । नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२० मै निवारण गर्ने लक्ष्य लिएको थियो । तर नसकेपछि सन् २०३० सम्मको समय थपेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button