तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउनुपर्छ : महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गरी यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

‘२०४६ पछि हामीले पञ्चायतकालमा दुई प्रतिशतमा रहेको आर्थिक वृद्धि पहिलो चरणमा सात प्रतिशत पुर्‍यायौँ । अब दोस्रो चरणको आर्थिक वृद्धिको आवश्यकता छ । त्यसतर्फै सरकारले काम गर्नुपर्ने छ’, उहाँले भन्नुभयो, ‘व्यापार घाटा न्यूनीकरण गर्न विद्युत् उत्पादन वृद्धि गर्नुपर्ने छ । यातायात र खाना पकाउने प्रविधिलाई विद्युत्मा रुपान्तरण गर्न जरुरी छ ।’ बर्खायाममा विद्युत् उत्पादन बढेपनि हिउँदमा भारतबाट आयात गर्नुपर्ने अवस्था विद्यमान रहेको भन्दै ठूला जलाशययुक्त आयोजना निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘बर्खायाममा मात्र विद्युत् उत्पादन बढेर हुँदैन, हिउँदमा अहिले पनि विद्युत् अभाव छ’, सांसद महतले भन्नुभयो, ‘बर्खामा बेचेको बिजुलीबाट आएको खर्च हिउँदमा विद्युत् किनेर सकिएको छ ।’

हिउँदमा विद्युत्मा आत्मनिर्भर हुन जलाशययुक्त आयोजनाको तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्युत्मा आत्मनिर्भर भएसँगै व्यापार घाटा कम हुने, विदेशी मुद्रा सञ्चिति बढ्ने बताउनुभयो । विद्युत् उत्पादन वृद्धि गरी यसको खपत र निर्यात गरेर वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्रालाई सुधार गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button