तपाईँ सुन्दै हुनुहुन्छः

कृषिलाई पर्यटनसँग जोड्दै चितवनका तीन युवा

चितवन । धेरै पढे लेखेकादेखि साक्षरसम्मका युवालाई तपाईँको चाहना वा योजना के छ भनेर सोध्यो भने प्रायः को जवाफ उस्तै हुन्छ – “विदेश गएर उतै कमाउने, उतै रमाउने, उतै स्थापित हुने ।’ तर त्यस्ता युवाभन्दा फरक थोरै नै भए पनि केहीमा नयाँ सोच विकास पनि हुँदै गएको छ –‘विदेशमा गएर  ज्ञान र सीप सिक्ने अनि नेपालमा आएर केही गर्ने ।” 

युवा विदेश पलायन भएपछि ‘ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायन हुन्छ भन्ने भयबाट अब ‘ब्रेन गेन’ अर्थात् ज्ञान र सीपको लाभ पनि हुन्छ भन्ने देखाउनुभएको छ भरतपुर महानगरपालिका वडा नम्बर १० का ४३ वर्षीय प्रकाश पन्थीले । झण्डै ९ बर्ष अस्ट्रेलिया बसाइँबाट ज्ञान सीप र धन आर्जन गरी स्वदेशमै लगानी गरी स्वरोजगार मात्र होइन रोजगारदाता समेत बन्नुभएको छ पन्थी ।

उहाँले विगत ४ वर्षदेखि भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १२ कठ्ठा जग्गा भाडामा लिएर युवा एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ बाट आधुनिक प्रविधिबाट माछा पालन गर्दै आउनुभएको छ  । “मैले ९ बर्ष अस्ट्रेलिया रहँदा शिक्षासँगै कृषि क्षेत्रमा काम गर्ने मौका पाएँ । त्यहाँ सिकेको ज्ञान नै यहाँ लगानी गर्दैछु ।” पन्थी भन्नुहुन्छ  । अहिले उहाँ मात्रै हुनुहुन्न  यहाँ दुई जना युवाले पनि साथ दिनुभएको  छ । प्रकाश र अर्का सहपाठी कपिल रेग्मीले माछापालन सम्हाल्दै आउनुभएको छ भने राजकुमार राना  किसान चुलो नामको रेष्टुरेण्ट एण्ड बार हेर्दै आउनुभएको छ । “योभन्दा अघि दुई जनाले माछापालन मात्र गर्दै आएका थियौँ अहिले हालसालै विस्तार गरेर किसान चुलो सञ्चालनमा ल्याएका छौँ”, पन्थी आफ्नो नयाँ कामबारे सुनाउनुभयो ।  

उहाँले माछा पालनलाई आधुनिक प्रविधियुक्त बनाउनुभएको छ जहाँ जमिन खनेर माछापालन गरिँदैन । लहरै पानी ट्याङ्की राखिएका छन् । माछालाई चाहिने अक्सिजन र पानी विद्युत्बाट सन्तुलन गरिएको छ यहाँ । ‘यो बायो फ्लक फिस फार्मिङ्ग’, प्रविधि हो ।  यसले स्पेस, पानी, बिजुली, दानाको कम खर्च हुन्छ उत्पादनमा दोब्बर वृद्धि हुन्छ ।’ उहाँको अनुभव छ ।

उहाँले यो प्रविधिको प्रयोग गर्न अस्ट्रेलियाबाट मात्र सिक्नुभएन  भारतको गोरखपुर पनि जानुभयो  । त्यतिले मात्र पुगेन इन्डोनेसियाको पेकन बरुमा गएर पनि तालिम लिनुभयो  । “मैले यी सबै ठाउँबाट सीप र ज्ञान लिएर मात्र यो शुरु गरेको हुँ ।” पन्थीले माछा पालनको सुरुवाती क्षणबारे बेलिबिस्तार लगाउनुभयो  । 

अस्ट्रेलियाबाट फर्केपछि के गर्ने भन्ने सोचाइमा बसेका पन्थीले अर्का सहपाठी कपीलले साथ दिनुभएपछि यो आधुनिक प्रविधिमा हात हाल्ने आत्मविश्वास उहाँमा बढेको हो ।  हाल उहाँको फार्ममा लहरै राखिएका आधुनिक १७ वटा ट्याङ्कीमा माछा पालिएका छन् । जहाँ विशेष गरी पंगास, तिलापीया, कमन कार्प, मांगुर जातका माछा छन् । 

यहाँ उत्पादित माछा चितवन र विशेष गरी काठमाडौँमा बिक्री हुँदै आएको छ । उहाँ अहिले यतिमा मात्र समिति हुनुहुन्न । हालैमात्र किसान चुलो रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याउनुभएको उहाँले उत्पादन र उपभोगलाई जोड्ने प्रयास गर्नुभएको छ  । 

“उत्पादन, बिक्री अनि फाइदा पनि राम्रै थियो तर यसलाई बिस्तार गरेर किसान चुल्हो पनि सञ्चालनमा ल्याएका छौँ ।” रेष्टुरेन्टमा हात हाल्नुको आशय खुलाउनुहुन्छ उहाँ ।  अर्ग्यानिक र स्वस्थ परिकार आफ्नै फार्मका उत्पादनबाट ग्राहकलाई सेवा दिने उद्देश्यसहित किसान चुल्हो सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो  ।  

हाल उहाँको चुल्होमा माछाको म म, तावा ग्रील, फोयल फिस, फा्रई फिस, रोल माछा लगायतका परिकार पाक्दछन् । यति मात्र होइन लोकल हाँस र कुखुराका परिकार पनि उहाँले पस्कँदै आउनुभएको छ  । “यहाँ आएपछि हरेक ग्राहकको चाहना फरक फरक हुनसक्छ, एकै ठाउँमा सबै स्वाद चाख्न पाउन र पटक पटक ग्राहक आउन भन्ने हाम्रो उद्देश्य हो ।” पन्थी भन्नुहुन्छ  । 

सहरको भीड र कोलाहलबाट केही पर अर्ग्यानिक स्वाद पस्कन आफूले यो अवधारण ल्याएको उहाँले बताउनुभयो  । सबै संरचनासहित झण्डै ६० लाख रुपैंया लगानी गरेका हाल उहाँको फार्म र चुल्होमा गरी ९ जनाले प्रत्यक्ष रोजगारी पाउनुभएको छ । अब यसलाई थप विस्तार गरी एग्रो टुरिज्म अवधारणमा लैजाने योजना रहेको उहाँले सुनाउनुभयो । “कृषिलाई पर्यटनसँग जोड्ने योजना छ, यसको लागि नजिकै पोखरीको निर्माण पुरा गरी फिसिङ्ग छिट्टै गराउने सोचमा छौँ”, पन्थी भन्नुहुन्छ । “यसपछि आवास सहितको व्यवस्था पनि छिट्टै गर्ने योजनामा छौँ।” साथै यो प्रविधि सम्बन्धी तालिम र अभिमुखीकरणको लागि पनि आफूले सहजीकरण गर्ने उहाँको चाहना छ । 

‘नयाँ कृषि नयाँ विचार, कृषि नै नै समृद्धिको आधार’ भन्ने मुल मन्त्रका साथ भविष्यमा अन्य ठाउँमा पनि यो प्रविधिको माछापालन विस्तार गर्ने सोचाई उहाँको छ । “विदेशमा सीप र ज्ञान लिने हो , लगानी त आफ्नै देशमा गर्नुपर्छ । सीप र ज्ञान भए विदेशमा भन्दा बढी नेपालमा नै कमाउन सकिन्छ । त्योभन्दा पनि ठूलो आत्मासन्तुष्टि पनि मिल्छ ।” उहाँको  भनाई  । 

“सामान्य पारिश्रमिकमा पनि दैनिक सयौँ युवाहरू रोजगारीका लागि विदेश जाने लर्को लागेको बेला पन्थीको बाटो त्यसको ठिक उल्टो छ । स्वरोजगार हुने मात्र होइन रोजगारी दिने त्यो पनि देशमै बसेर ! विदेशमा लहलहैमा गएर ठक्कर खाइ फर्कनुभन्दा प्रकाश र उहाँका साथीले लिएको बाटो अहिले नै समयमै पछ्याउन सके पैसा र समय खेर जाने थिएन कि नेपाली युवाको ?”

प्रतिक्रिया राख्नुहोस्

Back to top button